४ चैत्र, काठमाडौं । इजरायलको गुप्तचर संस्था ‘मोसाद’ का लागि जासुसी गरेको अभियोगमा इरानले कुरोस केवानी नामका एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ ।
इरानी न्यायपालिकाको आधिकारिक समाचार एजेन्सी ‘मिजान’ का अनुसार केवानीलाई इरानका अत्यन्तै संवेदनशील सैन्य तथा रणनीतिक स्थानका तस्बिर र गोप्य जानकारीहरू इजरायललाई उपलब्ध गराएको कसुरमा दोषी ठहर गर्दै फाँसी दिइएको हो ।
गत वर्ष इरान र इजरायलबीच भएको १२ दिने युद्धका क्रममा सावजबालाघ सहरबाट पक्राउ परेका उनले शत्रु राष्ट्रका लागि काम गरेको अदालतको निष्कर्ष छ । मध्यपूर्वमा बढ्दो तनाव र ‘छाया युद्ध’ खुला द्वन्द्वमा परिणत भइरहेका बेला यो मृत्युदण्डको घटना सार्वजनिक भएको हो ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको संयुक्त हवाई हमलामा इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएपछि दुई देशबीचको सम्बन्ध वारपारको अवस्थामा पुगेको छ । इरानले आफ्ना नेता र सैन्य अधिकारीहरूको हत्याको बदला लिन इजरायल र अमेरिकी सैन्य अखडाहरू रहेका खाडी मुलुकहरूमा निरन्तर ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरिरहेको छ, जसका कारण समग्र क्षेत्र नै युद्धको भुमरीमा फसेको छ ।
पछिल्लो समय इजरायलले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीको समेत हत्या गरेपछि इरानी आक्रोश झनै चुलिएको छ । इरानका सैन्य प्रमुख अमिर हतामीले यसको ‘निर्णायक’ बदला लिने चेतावनी दिइरहँदा इजरायलले भने नवनियुक्त सर्वोच्च नेता मोज्तबा खामेनीलाई पनि निशाना बनाउने धम्की दिएको छ ।
एकातिर आन्तरिक रूपमा जासुसीको आरोपमा मृत्युदण्ड दिने र अर्कोतिर सीमाबाहिर सैन्य मुठभेड तीव्र पार्ने इरानको यो रणनीतिले मध्यपूर्वको संकटलाई अझै जटिल र भयानक बनाएको छ ।

















