४ चैत्र, काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा अन्तरजातीय प्रेम विवाह गरेकी एक २५ वर्षीया युवती शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् ।
पाँच वर्षअघि मुकेश धनखोटी यादवसँग भागेर विवाह गरेकी विभाकुमारी महतो मंगलबार आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएकी हुन्। यो घटना सार्वजनिक भएसँगै माइती पक्षले यसलाई आत्महत्या नभई सुनियोजित हत्या भएको दाबी गरेको छ । विवाहको लामो समयसम्म सन्तान नभएको निहुँमा विभामाथि पटक–पटक शारीरिक तथा मानसिक यातना दिइने गरेको उनका दाजु मनिषकुमार महतोको आरोप छ ।
मृतकको शरीरमा नीलडामहरू देखिएको भन्दै माइती पक्षले दाइजो वा सन्तानको विषयलाई लिएर हत्या गरिएको आशङ्का व्यक्त गरेको छ । विभाका दाजु मनिषले उनका पति मुकेशविरुद्ध आत्महत्या दुरुत्साहनको अभियोगमा प्रहरीमा जाहेरी दिएपछि घटनाले कानुनी मोड लिएको हो । सोही जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले मुकेशलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसप) गणेश बमले घटनाको गम्भीरतालाई हेर्दै पक्राउ परेका मुकेशमाथि विस्तृत सोधपुछ भइरहेको जानकारी दिनुभएको छ ।
प्रेम विवाह गरेर सुखद भविष्यको सपना बुनेकी एक युवतीको यसरी असमयमै र शङ्कास्पद मृत्यु हुनुले स्थानीय समुदायलाई समेत स्तब्ध बनाएको छ । प्रहरीले पोस्टमार्टम रिपोर्ट र अन्य प्राविधिक प्रमाणका आधारमा घटनाको सत्यतथ्य चाँडै सार्वजनिक गर्ने बताएको छ ।

















