Logo

४ चैत्र, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेसँगै निर्वाचन आयोगले भोलि (बिहीबार) नवनिर्वाचित समानुपातिक सांसदहरूलाई औपचारिक रूपमा प्रमाणपत्र वितरण गर्ने भएको छ ।

आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११ बजे आयोगको कार्यालयमा आयोजना गरिने एक विशेष समारोहमा समानुपातिक प्रणालीबाट चुनिएका ११० जना सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिनेछ । यसपटकको निर्वाचनमा प्राप्त मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै ५७ सिट प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिस्ट पार्टीले ९ तथा श्रम संस्कृति र राप्रपाले ४/४ सिट सुनिश्चित गरेका छन् ।

सांसदहरूलाई प्रमाणपत्र वितरण गरिसकेपछि आयोगले भोलि नै दिउँसो ४ बजे शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को विस्तृत प्रतिवेदन बुझाउने कार्यतालिका तय गरेको छ । गत फागुन २१ गते देशभर सम्पन्न भएको निर्वाचनको समग्र नतिजा, तथ्याङ्क र प्रक्रिया समेटिएको उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरिएसँगै नयाँ संसद् गठनको संवैधानिक ढोका खुल्नेछ ।

आयोगले आफ्ना सबै औपचारिक जिम्मेवारी पूरा गरेपछि भोलि साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरी निर्वाचनसम्बन्धी सम्पूर्ण विवरणहरू आमसञ्चार माध्यममार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।

यसपटकको चुनावी परिणामले संसद्को शक्ति सन्तुलनमा ठूलो फेरबदल ल्याएको छ। प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी सदनको सबैभन्दा ठूलो शक्तिका रूपमा उदय भएको छ ।

त्यस्तै नेपाली कांग्रेस ३८ सिट, एमाले २५ सिट र नेपाली कम्युनिस्ट पार्टी १७ सिटसहित संसद्मा उपस्थित हुने भएका छन् । निर्वाचन आयोगले भोलिको प्रतिवेदन बुझाएपछि मुलुक अब नयाँ सरकार गठन र संसदीय अभ्यासको अर्को महत्वपूर्ण चरणमा प्रवेश गर्ने देखिन्छ ।


सम्बन्धित समाचार