५ चैत, धनगढी । कैलालीको गोदावरी नगरपालिका–४, अमलेशैनी गाउँमा एक युवकले भरुवा बन्दुक प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । जंगलमा बाख्रा चराउन गएका बेला ३१ वर्षीय रामबहादुर मगरले २८ वर्षीया श्रीमती संजिता मगरको गोली हानी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीबार जंगलमा बाख्रा चराइरहेका बेला श्रीमान–श्रीमतीबीच सामान्य विवाद भएको थियो । विवाद उग्र बनेपछि रामबहादुरले आफूसँगै बोकेको भरुवा बन्दुकले श्रीमतीमाथि प्रहार गरेका थिए । गोली लागेकी संजिताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
श्रीमतीको हत्या गरेलगत्तै रामबहादुरले सोही बन्दुकले आफैँलाई पनि गोली हानी आत्महत्याको प्रयास गरेका छन् । गोली लागेर गम्भीर घाइते भएका रामबहादुरको अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ ।
मृतक संजिताको शव अहिले घटनास्थलमै सुरक्षित राखिएको छ । माइती पक्षलाई खबर गरिसकिएको र उनीहरू आइपुगेपछि मात्रै शवलाई पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
“घटनाको प्रकृति हेर्दा रिसको आवेगमा आएर गोली चलाएको देखिन्छ,” डीएसपी तिमिल्सिनाले भने, “भरुवा बन्दुक कहाँबाट र कसरी आयो भन्नेबारे पनि हामीले सुक्ष्म अनुसन्धान सुरु गरेका छौँ ।”

















