Logo

५ चैत्र, काठमाडौं । अमेरिका, इजरायल र इरानबीचको युद्ध २० औँ दिनमा प्रवेश गर्दा मध्यपूर्वको ऊर्जा पूर्वाधारमा गम्भीर संकट उत्पन्न भएको छ ।

बुधबार राति इरानले कतारको विशाल ‘रास लाफान’ ग्यास प्लान्टमा क्षेप्यास्त्र प्रहार गरेपछि स्थिति थप तनावपूर्ण बनेको छ । कतारले यस आक्रमणलाई ुलक्ष्मणरेखाु पार गरेको संज्ञा दिँदै इरानलाई जिम्मेवार ठहर्‍याएको छ । यसअघि अमेरिका र इजरायलले इरानको असालुयेह सहरस्थित विश्वकै सबैभन्दा ठूलो ुसाउथ पार्सु ग्यास फिल्ड र तेल डिपोहरूमा भीषण हवाई आक्रमण गरेका थिए ।

इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनीले आफ्ना सुरक्षा प्रमुखको हत्याको बदला लिने चेतावनी दिँदै खाडी मुलुकका तेल र ग्यास केन्द्रहरूमा थप आक्रमण हुन सक्ने संकेत गरेका छन्, जसका कारण साउदी अरब र यूएईसमेत उच्च सतर्कतामा रहेका छन् ।

यता युद्धको रापले अमेरिकी राजनीतिलाई पनि तताएको छ । पेन्टागनले ह्वाइट हाउससँग इरान युद्धका लागि २०० अर्ब अमेरिकी डलरभन्दा बढीको विशाल बजेट माग गरेपछि अमेरिकी कंग्रेसमा विवाद सुरु भएको छ । सांसद क्रिस भ्यान होलेनले यो युद्धले अमेरिकालाई सुरक्षित नबनाउने भन्दै उक्त कोषको विपक्षमा मतदान गर्ने घोषणा गरेका छन् ।

हालसम्मको युद्धमा ११ अर्ब डलर खर्च भइसकेको अवस्थामा हतियार उत्पादन बढाउन मागिएको यो ठूलो रकमलाई लिएर राजनीतिक खिचातानी बढ्ने निश्चित देखिएको छ। प्रशासनभित्र बजेटको रस्साकस्सी चलिरहँदा रक्षा विभाग र ह्वाइट हाउसले भने यसबारे आधिकारिक टिप्पणी गर्न बाँकी छ ।

डोनाल्ड ट्रम्पले गरे आलोचना

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रुथ सोसल’ मार्फत प्रतिक्रिया दिँदै इजरायलले इरानको साउथ पार्स ग्यास फिल्डमा गरेको आक्रमणको आलोचना गरेका छन् । ट्रम्पले उक्त आक्रमणबारे अमेरिकालाई पूर्वजानकारी नभएको र कतारको यसमा कुनै संलग्नता नरहेको दाबी गर्दै इरानले बिनाकारण कतारमाथि प्रहार गरेको जिकिर गरेका छन् ।

उनले इरानलाई थप ‘अविवेकपूर्ण’ कदम नचाल्न चेतावनी दिँदै यदि कतारको एलएनजी केन्द्रमा पुनः आक्रमण भएमा अमेरिकाले कडा कदम चाल्न हिचकिचाउने छैन भनी सचेत गराएका छन् । ऊर्जा केन्द्रहरूलाई निसाना बनाउने यो पछिल्लो प्रवृत्तिले विश्वव्यापी इन्धन आपूर्ति र मूल्यमा ठूलो प्रभाव पार्ने जोखिम बढाएको छ ।


सम्बन्धित समाचार