Logo

५ चैत्र, काठमाडौं । मनमोहन प्राविधिक विश्वविद्यालयको परिसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको बहुचर्चित पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ जलाइएको घटनाले कूटनीतिक र राजनीतिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ ।

सामाजिक सञ्जालमा पुस्तक जलाइएका तस्बिर र भिडियोहरू सार्वजनिक भएपछि काठमाडौँस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत गम्भीर ध्यानाकर्षण गराएको थियो । छिमेकी राष्ट्रको राष्ट्रप्रमुखको मानमर्दन हुने गरी भएको यस कार्यलाई सरकारले गम्भीरतापूर्वक लिँदै गृह मन्त्रालयको निर्देशनमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा जिल्ला प्रहरी, आन्तरिक मामिला मन्त्रालय, सरकारी वकिल र शिक्षा इकाइका प्रतिनिधिहरू सम्मिलित छन्, जसलाई १५ दिनभित्र सत्यतथ्य प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ ।

विश्वविद्यालय प्रशासनले भने यस घटनालाई नियोजित नभई नियमित सरसफाइको प्रक्रिया भएको दाबी गरेको छ। सिभिल इन्जिनियरिङ विभागका नयाँ ल्याबहरू स्थापना गर्ने क्रममा पुराना वर्कशप खाली गर्दा धमिरा लागेका र मक्किएका कवाडी सामानहरूसँगै केही काम नलाग्ने पुस्तकहरू नष्ट गरिएको विश्वविद्यालयको भनाइ छ। तर, चिनियाँ राष्ट्रपतिको पुस्तक नै छानिएर जलाइएको दृश्य सार्वजनिक भएपछि यसमा राजनीतिक उद्देश्य वा कसैको उक्साहट हुन सक्ने आशंकामा सूक्ष्म अनुसन्धान थालिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले समितिले बिहीबारबाटै काम सुरु गरिसकेको र छानबिनको निष्कर्ष नआएसम्म थप टिप्पणी गर्न नमिल्ने बताएका छन्।

यो घटना यस्तो समयमा आएको छ जब नेपाल र चीनबीच विभिन्न विकास आयोजना र रणनीतिक साझेदारीका विषयमा संवाद भइरहेको छ । कूटनीतिक मर्यादाविपरीत भएको ठानिएको यस कृत्यले दुई देशको सम्बन्धमा आँच पुऱ्याउन सक्ने भन्दै सरकारले यसलाई ‘फास्ट ट्रयाक’ मा अनुसन्धान गर्न खोजेको देखिन्छ ।

छानबिन समितिले विश्वविद्यालयका कर्मचारी, प्रत्यक्षदर्शी र भिडियो खिच्ने व्यक्तिहरूसँग बयान लिने तयारी गरेको छ । १५ दिनपछि आउने प्रतिवेदनले यो घटना अन्जानमा भएको प्राविधिक त्रुटि थियो वा कुनै योजनाबद्ध अपमान, भन्ने कुराको निक्र्योल गर्नेछ ।


सम्बन्धित समाचार