५ चैत्र, काठमाडौं । नेपालको घरेलु फुटबलमा पर्यटक भिसामा आएका विदेशी खेलाडीहरूलाई नियमविपरीत मैदान उतार्ने प्रवृत्तिमाथि अध्यागमन विभागले कडा अंकुश लगाएको छ ।
विभागले बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई औपचारिक पत्र काट्दै पर्यटकीय भिसामा रहेका कुनै पनि विदेशी नागरिकलाई फुटबल प्रतियोगिताहरूमा सहभागी नगराउन स्पष्ट निर्देशन दिएको हो । एन्फाद्वारा सञ्चालित राष्ट्रिय महिला तथा पुरुष लिगमा केही क्लबहरूले श्रम स्वीकृति र नियमानुसारको कार्य सहमतिबिना नै विदेशी खेलाडीहरू समावेश गरेको उजुरी परेपछि विभागले यो कदम चालेको हो ।
अध्यागमन नियमावली, २०५१ को नियम २० ले विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्यभन्दा बाहिरका गतिविधिमा संलग्न हुन पूर्णतः निषेध गरेको छ । विभागले खेलकुद जस्तो व्यावसायिक गतिविधिमा संलग्न हुनका लागि अनिवार्य रूपमा श्रम स्वीकृति र सम्बन्धित निकायको सहमति लिनुपर्ने कानुनी व्यवस्थाको स्मरण गराउँदै अबदेखि नियम मिच्ने खेलाडी र क्लब दुवैमाथि कारबाही हुने चेतावनी दिएको छ । यदि कुनै विदेशी खेलाडीलाई लिगमा खेलाउनु पर्ने भएमा प्रचलित कानुनअनुसारको प्रक्रिया पूरा गरेर मात्र मैदानमा उतार्न एन्फालाई सचेत गराइएको छ ।
विभागले बिहीबारैबाट खेल मैदान र क्लबहरूको अनुगमन सुरु गरिसकेको जनाउँदै भिसाको उद्देश्यविपरीत खेलमा सहभागी भएको पाइएमा तत्कालै कानुनी कारबाही अगाडि बढाइने स्पष्ट पारेको छ । यस निर्देशनले हाल जारी लिगमा आबद्ध धेरै विदेशी खेलाडीहरूको भविष्य अन्योलमा परेको छ भने एन्फा र क्लबहरूलाई कानुनी प्रक्रिया पुर्याउन ठूलो दबाब सिर्जना भएको छ ।
पर्यटकीय भिसाको दुरुपयोग रोक्न चालिएको यो कदमले नेपाली फुटबलमा व्यावसायिकता र कानुनी पारदर्शिता कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

















