Logo

५ चैत्र, काठमाडौं । प्रविधिको बढ्दो प्रयोगसँगै सामाजिक सञ्जालमा देखिने ‘आकर्षक लगानी’ र ‘चामत्कारिक नाफा’ को प्रलोभन देखाएर सर्वसाधारणलाई ठग्ने गिरोह सक्रिय भएपछि नेपाल राष्ट्र बैंकले कडा चेतावनी जारी गरेको छ  ।

‘ग्लोबल मनी विक’ (विश्व वित्तीय सप्ताह) को अवसरमा एक विशेष सन्देश प्रवाह गर्दै केन्द्रीय बैंकले इन्टरनेट वा सामाजिक सञ्जालमार्फत आउने ठूलो आम्दानी, चिट्ठा, पुरस्कार वा असाधारण लगानीका प्रस्तावहरू ठगीका सुनियोजित जाल हुन सक्ने भन्दै नागरिकलाई सचेत गराएको हो ।  यस्ता विज्ञापनहरूले विशेषगरी युवा र कम वित्तीय साक्षरता भएका व्यक्तिहरूलाई निशाना बनाइरहेको पाइएकाले बिना अनुसन्धान कुनै पनि वित्तीय कारोबार नगर्न बैंकको सुझाव छ ।

केन्द्रीय बैंकले पछिल्लो समय डिजिटल माध्यमबाट हुने ठगीको स्वरूप बदलिएको उल्लेख गर्दै कुनै पनि आकर्षक अफर प्राप्त हुनासाथ त्यसको सत्यतथ्य जाँच गरेर मात्र निर्णय लिन आग्रह गरेको छ ।  ‘यदि कसैले घरै बसेर थोरै लगानीमा धेरै कमाइ हुने वा सित्तैमा पुरस्कार पाइने भ्रम फैलाउँछ भने त्यो वित्तीय अपराधको सुरुवात हुन सक्छ,’ बैंकको सन्देशमा भनिएको छ ।

अपरिचित लिङ्कहरू क्लिक नगर्न र आफ्ना गोप्य वित्तीय विवरणहरू कसैलाई साझा नगर्न आग्रह गर्दै राष्ट्र बैंकले सम्भावित ठगीबाट बच्न ‘सोचेर र जाँचेर’ मात्र डिजिटल पाइला चाल्न आह्वान गरेको छ ।  यस सचेतना अभियानले बढ्दो साइबर अपराध नियन्त्रण गर्न र सर्वसाधारणको मेहनतको कमाइ सुरक्षित राख्न मद्दत पुग्ने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार