Logo

५ चैत्र, काठमाडौं । इरानमाथि गरिएको सैन्य आक्रमण र मध्यपूर्वमा चर्किएको युद्धका कारण विश्वकै शक्तिशाली अर्थतन्त्र मानिने अमेरिका गम्भीर आर्थिक संकटतर्फ धकेलिएको छ ।

अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएको केही हप्तामै अमेरिकाको राष्ट्रिय ऋणले ३९ ट्रिलियन (३९० खर्ब) अमेरिकी डलरको अकल्पनीय र कीर्तिमानी स्तर पार गरेको छ । युद्धका लागि आवश्यक हतियार उत्पादन र सैन्य परिचालनमा भइरहेको अर्बौँ डलरको खर्चले अमेरिकी ढुकुटीमा ठूलो प्वाल पारेको छ, जसले गर्दा सरकारलाई आफ्नो वित्तीय सन्तुलन कायम राख्न थप ऋणको भार बोक्नुपर्ने बाध्यता आइलागेको हो ।

बढ्दो ऋणको यो चापले प्रत्यक्ष रूपमा अमेरिकी नागरिकको भान्छा र खल्तीमा असर पार्ने निश्चित देखिएको छ । आर्थिक विशेषज्ञहरूका अनुसार अत्यधिक ऋणका कारण ब्याजदरमा वृद्धि हुने र यसले गर्दा सर्वसाधारणले घर वा कार खरिदका लागि लिने कर्जाको लागत निकै महँगो हुनेछ । यति मात्र नभई, व्यवसायमा लगानी गर्ने पुँजीको अभाव हुँदा कामदारहरूको ज्याला कटौती हुन सक्ने र दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य आकाशिएर मुद्रास्फीति चुलिने खतरा बढेको छ। युद्धका नाममा लिइएको यो विशाल ऋणले अमेरिकी अर्थतन्त्रलाई दीर्घकालीन रूपमा कमजोर बनाउने संकेतहरू देखिएका छन् ।

युद्धका लागि थप अर्बौँ डलर माग

पछिल्लो समय अत्यधिक ऋण लिने र त्यसको ब्याज भुक्तानीमा नै ठूलो हिस्सा खर्च गर्ने प्रवृत्तिले भविष्यमा अमेरिकी सरकार र नागरिकलाई कठिन वित्तीय निर्णयहरू गर्न बाध्य बनाउने देखिन्छ । एकातिर पेन्टागनले युद्धका लागि थप अर्बौँ डलरको माग गरिरहेको छ भने अर्कोतिर राष्ट्रिय ऋणको यो भयावह आँकडाले अमेरिकी डलरको साखमा समेत प्रश्न उठाएको छ ।

युद्ध लम्बिएसँगै बढ्ने यो ऋणको भारले आगामी पुस्तालाई समेत वित्तीय दलदलमा फसाउने भन्दै अमेरिकाभित्रै पनि युद्धको आर्थिक पक्षलाई लिएर तीव्र आलोचना र चिन्ता व्यक्त हुन थालेको छ ।


सम्बन्धित समाचार