५ चैत्र, काठमाडौं । इरान सरकारले गत जनवरीमा भएको देशव्यापी सरकारविरोधी प्रदर्शनका क्रममा सुरक्षाकर्मीको हत्या गरेको अभियोगमा तीन जनालाई मृत्युदण्ड दिएको छ ।
इरानी न्यायपालिकासँग सम्बद्ध समाचार एजेन्सी ‘मिजान’ का अनुसार मेहदी कासेमी, सालेह मोहम्मदी र सईद दावुदीलाई बिहीबार इरानको कोम सहरमा सार्वजनिक रूपमा फाँसी दिइएको हो । उनीहरूमाथि सुरक्षाकर्मीको हत्या गर्नुका साथै कट्टर शत्रु मानिएका इजरायल र अमेरिकाको इसारामा काम गरेको (जासुसी तथा राष्ट्रद्रोह) गम्भीर आरोप लगाइएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सर्वोच्च अदालतले मृत्युदण्डको फैसला सदर गरेपछि र प्रतिपक्षी वकिलहरूको उपस्थितिमा यो सजाय कार्यान्वयन गरिएको हो । इरानमा पछिल्लो समय सरकारविरोधी प्रदर्शनमा संलग्नहरूलाई नियन्त्रणमा लिई कडा कानुनी कारबाही गर्ने क्रम बढेको छ । यो घटनाले मानव अधिकारवादी संगठनहरूमाझ चिन्ता पैदा गरे पनि इरानी अधिकारीहरूले भने राष्ट्रिय सुरक्षा र सुरक्षाकर्मीको जीवन रक्षाका लागि यस्तो कठोर कदम आवश्यक रहेको दाबी गरेका छन् ।
यो मृत्युदण्डको घटना यस्तो समयमा आएको छ, जब इरान र पश्चिमा मुलुकहरूबीचको सैन्य तथा राजनीतिक तनाव उच्च विन्दुमा पुगेको छ । सार्वजनिक रूपमा दिइएको यो फाँसीलाई प्रदर्शनकारीहरूका लागि एउटा चेतावनीका रूपमा समेत हेरिएको छ । घटनापछि इरानका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ भने अन्तर्राष्ट्रिय समुदायले यस प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठाउन थालेका छन् ।

















