४ चैत्र, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई ऐतिहासिक रूपमा सफल बनाउन अहोरात्र खटिने कर्मचारी, सुरक्षाकर्मी र आम नागरिकप्रति आभार प्रकट गर्न बिहीबार कर्णाली प्रदेशको भ्रमण गर्नुभएको छ ।
फागुन २१ को निर्वाचनपछि पहिलोपटक विकट पहाडी क्षेत्र पुग्नुभएकी प्रधानमन्त्री कार्कीले मुगुको रारा र जुम्लाको खलङ्गामा आयोजित विशेष अन्तरक्रिया कार्यक्रमहरूमा सहभागिता जनाउनुभयो ।
सीमित स्रोत–साधन र भौगोलिक विकटताका बाबजुद पनि सुरक्षा निकाय र कर्मचारीतन्त्रले देखाएको उच्च व्यावसायिकता र समन्वयका कारण मुलुकले लोकतान्त्रिक अभ्यासलाई सफलतापूर्वक सम्पन्न गरेको भन्दै उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
मुगुको रारामा जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँगको छलफलपछि जुम्ला पुग्नुभएकी प्रधानमन्त्रीले त्यहाँका स्थानीय बासिन्दाहरूसँग पनि प्रत्यक्ष संवाद गर्नुभयो ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित बनाउन कर्णालीवासीले देखाएको धैर्यता, सद्भाव र सहकार्यको कदर गर्दै उहाँले यस सफलताको वास्तविक श्रेय सम्पूर्ण नेपाली जनतालाई जाने बताउनुभयो । जुम्लाको खलङ्गामा आयोजित भेटघाटमा उहाँले भन्नुभयो, “देशले कठिन परिस्थितिमा पनि लोकतान्त्रिक प्रक्रियालाई एउटा नयाँ उचाइमा पुर्याएको छ, यसले हाम्रो लोकतन्त्रको जगलाई अझ मजबुत बनाएको छ ।”
आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले वि।सं। २०३७ सालमा स्थापित नेपालकै जेठो प्राविधिक शिक्षालयमध्ये एक, कर्णाली प्राविधिक शिक्षालयको समेत अवलोकन गर्नुभयो । सो अवसरमा विद्यार्थी, शिक्षक र स्थानीयले उहाँलाई लालीगुराँसको मालाले न्यानो स्वागत गरेका थिए ।
निर्वाचनपूर्वको व्यस्तताका कारण कर्णाली आउन नपाउनुभएकी प्रधानमन्त्रीले आफ्नो छोटो कार्यकालमा सरकारलाई प्राप्त जनसमर्थन र सहयोगप्रति कृतज्ञता व्यक्त गर्न यो भ्रमणलाई विशेष प्राथमिकता दिनुभएको सचिवालयले जनाएको छ । उहाँको यो भ्रमणले राज्यको उपस्थिति र नागरिकसँगको सामिप्यतालाई थप प्रगाढ बनाएको स्थानीयको बुझाइ छ ।

















