१३ चैत, वीरगञ्ज । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायललाई इरानविरुद्धको युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । साथै, उनले इरानलाई आफ्ना छिमेकी राष्ट्रहरूमाथि आक्रमण रोक्नसमेत आह्वान गरेका छन् ।
मध्यपूर्वको पछिल्लो अवस्थाबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव गुटेरेसले मानवीय पीडा गहिरिँदै गएको, सर्वसाधारणको हताहती बढ्दै गएको र विश्वव्यापी आर्थिक प्रभाव विनाशकारी बन्दै गएको भन्दै युद्ध अन्त्य गर्ने यो उपयुक्त समय भएको बताएका हुन् ।
सोही अवसरमा राष्ट्र संघका प्रमुखले यस द्वन्द्व र यसका परिणामहरूलाई सम्बोधन गर्ने राष्ट्र संघको प्रयासको नेतृत्व गर्न जिन अर्नाल्टलाई आफ्नो व्यक्तिगत दूतका रूपमा नियुक्त गरेको घोषणासमेत गरेका छन् । लेबनानको युद्धपनि रोकिनुपर्नेमा जोड दिँदै उनले हिजबुल्लाहलाई इजरायलमाथि आक्रमण रोक्न र इजरायललाई लेबनानमा आफ्नो सैन्य कारबाही र हवाई हमलाहरू बन्द गर्न आह्वान गरे ।


















