१७ चैत, काठमाडौँ । देशका विभिन्न भागमा आज मंगलबार पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको असर देखिएकाले मौसममा बदलाब आएको हो ।
मौसमविद् रोजन लामिछानेका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बादल लाग्नेछ ।
कोशी प्रदेशसहित देशका पहाडी र हिमाली भू-भागका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति भने हिमाली क्षेत्रमा सामान्य बदली र पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि तराईको मौसम मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ । यद्यपि, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।
मौसम विभागका अनुसार भोलि बुधबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना कायमै रहने देखिन्छ । विभागले मेघगर्जन, चट्याङ, हावाहुरी र असिनाबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

















