Logo

१८ चैत, वीरगञ्ज ।  विशेष साहको नेतृत्वमा ‘जेन जेड युथ फोर्स’ पर्साको विशेष बैठक मंगलबार वीरगञ्जमा सम्पन्न भएको छ । पर्सा जिल्लाका विभिन्न वडा तथा पालिकाहरूबाट सयौँको संख्यामा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त बैठकले संगठन विस्तार र युवा नेतृत्व विकासका सन्दर्भमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकले संगठनलाई जगैदेखि मजबुत बनाउनका लागि छिट्टै टोल, वडा, पालिका, महानगर र जिल्ला तहसम्म नयाँ समितिहरू गठन गर्ने कार्ययोजना पारित गरेको छ । युवाहरूको सक्रिय सहभागितामार्फत समाजमा व्याप्त भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउने र सुशासनका पक्षमा दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने एजेन्डालाई बैठकले प्राथमिकताका साथ अघि सारेको छ ।

छलफलका क्रममा संगठनका नेतृत्वकर्ता विशेष साहले युवाहरू केवल भोट बैंक मात्र नभई समाज परिवर्तनका संवाहक हुनुपर्नेमा जोड दिए । “हामीले छिट्टै जिल्लाका हरेक कुनाका युवाहरूलाई आबद्ध गराउँदै संगठनलाई प्रभावकारी बनाउनेछौँ र सामाजिक कार्यहरूमा प्रत्यक्ष रूपमा सक्रिय हुनेछौँ,” उनले भने ।

सहभागी युवाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन र विकृति विसंगतिविरुद्ध एकजुट भएर लड्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी दिनहरूमा ‘जेन जेड युथ फोर्स’ले रचनात्मक र सामाजिक सेवाका कार्यहरूलाई तीव्रता दिने आयोजकले विश्वास व्यक्त गरेका छन् । यस भेलाले पर्साको युवा राजनीति र सामाजिक क्षेत्रमा नयाँ उत्साह थपेको विश्लेषण गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै