१८ चैत, वीरगञ्ज । अमेरिकामा गरिएको एक सर्वेक्षणले बहुसंख्यक नागरिकहरू इरानसँग जारी युद्ध छिट्टै अन्त्य गर्नुपर्ने पक्षमा रहेको देखाएको छ। सर्वेक्षणले अमेरिकी जनमत युद्धप्रति थाकिसकेको संकेत दिँदै राजनीतिक दबाब बढ्न थालेको देखाएको छ।
अमेरिकी सर्वेक्षण कम्पनी इप्सस र अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले संयुक्त रूपमा गरेको अध्ययनअनुसार दुई तिहाइ अमेरिकी नागरिकहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको लक्ष्य पूरा भए वा नभए पनि युद्ध अन्त्य हुनुपर्ने बताएका छन्। २७ प्रतिशतले भने लक्ष्य पूरा नभएसम्म युद्ध जारी राख्नुपर्ने धारणा व्यक्त गरेका छन् भने ६ प्रतिशतले कुनै प्रतिक्रिया दिएका छैनन्।
सर्वेक्षणले सत्तारुढ रिपब्लिकन समर्थकहरूभित्र समेत मत विभाजन रहेको देखाएको छ। ट्रम्प समर्थकमध्ये ४० प्रतिशतले लक्ष्य अधुरो रहे पनि युद्ध रोक्नुपर्ने बताएका छन् भने ५७ प्रतिशतले दीर्घकालीन संलग्नताको पक्ष लिएका छन्।
एक महिनादेखि जारी युद्धले मध्यपूर्वभर गम्भीर असर पार्दै हजारौंको ज्यान लिइसकेको छ भने विश्व अर्थतन्त्रमा पनि दबाब बढाएको छ। ऊर्जा मूल्यमा आएको तीव्र वृद्धिले मुद्रास्फीति थप बढ्ने चिन्ता पैदा गरेको छ।
सर्वेक्षणमा सहभागीमध्ये ६० प्रतिशतले इरानमाथि अमेरिकाले गरेको सैन्य आक्रमणप्रति असहमति जनाएका छन् भने ३५ प्रतिशतले मात्र समर्थन गरेका छन्। युद्धको प्रभावस्वरूप अमेरिकामा पेट्रोलको मूल्य तीन वर्षयताकै उच्च स्तरमा पुगेको छ र प्रतिग्यालन ४ डलर नाघेको छ।
दुई तिहाइ सहभागीहरूले आगामी एक वर्षभित्र इन्धनको मूल्य अझै बढ्ने अनुमान गरेका छन्। रिपब्लिकन मतदातामध्ये पनि ४० प्रतिशतले मूल्य वृद्धि हुने आँकलन गरेका छन्। त्यस्तै, आधाभन्दा बढी सहभागीहरूले युद्धले आफ्नो व्यक्तिगत आर्थिक अवस्थामाथि नकारात्मक प्रभाव पार्ने बताएका छन्, जसमा ३९ प्रतिशत रिपब्लिकन समर्थक पनि समावेश छन्।
यसले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि ट्रम्प प्रशासनमाथि थप राजनीतिक दबाब सिर्जना हुने संकेत दिएको छ। उक्त सर्वेक्षणमा १ हजार २१ जनाले भाग लिएका थिए।
यसैबीच, अन्तर्राष्ट्रिय स्तरमा युद्ध अन्त्यका प्रयासहरू पनि तीव्र हुन थालेका छन्। चीन र पाकिस्तानले इरानमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले पाँच बुँदे योजना सार्वजनिक गरेका छन्, जसमा तत्काल युद्धविराम र होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने प्रस्ताव समावेश गरिएको छ।
यो पहल पाकिस्तानका परराष्ट्र मन्त्रीले युद्ध अन्त्यका लागि चीनको सहयोग माग्दै बेइजिङ भ्रमण गरेपछि तयार पारिएको हो। चीनको परराष्ट्र मन्त्रालयले दुवै देशले “शान्तिको पक्षमा नयाँ प्रयास” गरिरहेको जनाएको छ।
इरान युद्धप्रति चीनको प्रतिक्रिया हालसम्म संयमित देखिए पनि संकट लम्बिँदै जाँदा उसको चासो बढ्दै गएको छ। पर्याप्त तेल भण्डारणका कारण तत्कालीन असर सीमित भए पनि दीर्घकालीन रूपमा चीनको औद्योगिक उत्पादन र निर्यातमा असर पर्ने चिन्ता बढेको छ।
यो युद्धले राष्ट्रपति सी चिनफिङले प्राथमिकता दिने ‘स्थायित्व’लाई चुनौती दिएको विश्लेषण गरिएको छ। आर्थिक वृद्धि र निर्यात कायम राख्न चीनलाई स्थिर वैश्विक वातावरण आवश्यक पर्छ।
युद्ध सुरु भएको एक महिना बितिसक्दा पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा चीनले कूटनीतिक पहल तीव्र बनाएको हो। यसअघि पनि चीनले मध्यपूर्वमा शान्ति प्रयास गर्दै सन् २०२३ मा साउदी अरेबिया र इरानबीच कूटनीतिक सम्बन्ध पुनःस्थापना गराएको थियो भने पछि प्यालेस्टिनी समूहहरूबीच एकता सरकार गठनमा पनि भूमिका खेलेको थियो।
यद्यपि, हाल प्रस्तुत पाँच बुँदे योजनाप्रति सम्बन्धित पक्षहरूबाट स्पष्ट प्रतिक्रिया आइसकेको छैन। तर, यस्तो पहलमार्फत राष्ट्रपति सीले आफूलाई तटस्थ मध्यस्थकर्ता र शान्तिदूतका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको विश्लेषकहरूको भनाइ छ।


















