१८ चैत, काठमाडौँ । झण्डै एक महिनादेखि जारी इरान–अमेरिका र इजरायलबीचको भिषण युद्ध अन्त्य हुने संकेत देखिएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले केही निश्चित सर्तहरू पूरा भएमा आफ्नो देश युद्ध रोक्न तयार रहेको सन्देश दिएका छन् ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति पेजेस्कियानले युरोपेली परिषद्का अध्यक्षसँगको टेलिफोन वार्तामा शान्तिको इच्छा व्यक्त गरेका हुन् । उनले युद्ध अन्त्यका लागि भविष्यमा पुनः द्वन्द्व सुरु नहुने बलियो ‘ग्यारेन्टी’लाई पहिलो सर्त बनाएका छन् । यसअघि अमेरिकाले अघि सारेको १५ बुँदे शान्ति प्रस्तावको जवाफमा पनि इरानले आक्रमण नदोहोरिने सुनिश्चितता माग गरेको थियो ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अबको ‘दुई वा तीन हप्ताभित्र’ अमेरिका इरानविरुद्धको युद्धबाट बाहिरिने संकेत दिनुभएको छ। “मेरो एउटै लक्ष्य इरानलाई आणविक हतियार हासिल गर्नबाट रोक्नु थियो, जुन पूरा भइसकेको छ,” ट्रम्पले भनेका छन्, “हामी इरानमा हाम्रो कामलाई अन्तिम रूप दिँदैछौँ, सम्भवतः दुई हप्ताभित्र हामी त्यहाँबाट बाहिरिनेछौँ।” ट्रम्पले अमेरिकामा बढ्दो ग्यासको मूल्य घटाउन पनि इरानबाट बाहिर निस्कनु आवश्यक रहेको उल्लेख गरेका छन् ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा हवाई हमला गरेपछि सुरु भएको यो युद्धका कारण मध्यपूर्व निकै तनावपूर्ण बनेको छ। इरानले पनि बदलास्वरुप इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डामा श्रृङ्खलाबद्ध आक्रमण गरेपछि द्वन्द्व चर्किएको थियो । एक महिनाभन्दा लामो समयदेखि जारी यस युद्धमा हालसम्म ४ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ, जसमा अधिकांश इरानी नागरिक रहेका छन् । दुवै पक्षबाट आएका पछिल्ला सकारात्मक अभिव्यक्तिले विश्व समुदायमा युद्धविरामको आशा जगाएको छ ।


















