Logo

१९ चैत, काठमाडौँ । इन्डोनेसियाको मोलुका टापुलाई केन्द्रविन्दु बनाएर बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार बिहान ६:४८ बजे गएको यस भूकम्पको केन्द्रविन्दु ऐतिहासिक सहर टर्नेटबाट करिब १२० किलोमिटर टाढा रहेको छ।

भूकम्पलगत्तै हवाईस्थित सुनामी चेतावनी केन्द्रले इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रहरूमा सुनामी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। भूकम्पको धक्का जापानसम्म महसुस गरिएको छ भने जापानी मौसम विज्ञान एजेन्सीले आफ्ना समुद्री तटहरूमा पानीको सतह परिवर्तन हुन सक्ने चेतावनी जारी गरेको छ।

प्राकृतिक विपत्तिका कारण हालसम्म उत्तर सुलावेसीको मिनाहासा क्षेत्रमा घर भत्किँदा एक ७० वर्षीया वृद्धाको मृत्यु भएको पुष्टि भएको छ। मनाडो सहरमा ठूला भवनहरू भत्किएका छन् भने राष्ट्रिय खेलकुद समितिको कार्यालय भवनमा समेत गम्भीर क्षति पुगेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा सडकमा छरपस्ट फर्निचर र त्रसित बासिन्दाहरू चिच्याउँदै सुरक्षित स्थानतर्फ भागिरहेको देखिन्छ।

मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका दुईवटा शक्तिशाली पराकम्पहरू गइसकेका छन्। इन्डोनेसियाको राष्ट्रिय भूगर्भ एजेन्सीले थप पराकम्पहरू आउन सक्ने र जमिन थर्किएर पहिरो जान सक्ने भन्दै भीरपाखा तथा तटीय क्षेत्रबाट टाढै रहन सर्वसाधारणलाई अपिल गरेको छ। उद्धार टोलीहरू प्रभावित क्षेत्रमा खटिएका छन् भने क्षतिको थप विवरण संकलन भइरहेको छ।


सम्बन्धित समाचार