Logo

२१ चैत, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गर्ने क्रममा खसेको अवशेष लागेर सात जना नेपाली नागरिक घाइते भएका छन् । आबुधाबीको अज्बान क्षेत्रमा भएको यो घटनामा नेपालीबाहेक पाँच जना भारतीय नागरिक पनि घाइते भएका छन् ।

आबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ जना नेपालीको अवस्था सामान्यदेखि मध्यम खालको छ भने एक नेपालीको अवस्था गम्भीर रहेको ‘गल्फ न्युज’ले जनाएको छ । घाइतेहरूको नाम र ठेगाना भने अझै सार्वजनिक गरिएको छैन ।

यूएईको रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) मार्फत मिसाइल र मानवविहीन ड्रोनहरूलाई सफलतापूर्वक नष्ट गरेको दाबी गरेको छ । सोही क्रममा आकाशबाट खसेका टुक्राहरू अज्बान क्षेत्रका विभिन्न स्थानमा बज्रिएका थिए । अज्बान क्षेत्र आबुधाबीको अल ऐन सहरको उत्तर र दुबई–अल ऐन सिमाना नजिक पर्दछ ।

घटनालगत्तै आपतकालीन उद्धार टोलीले प्रभावित क्षेत्रलाई सिल गरी घाइतेहरूलाई तत्काल नजिकैको अस्पताल पुर्‍याएको थियो ।

मिसाइलको अवशेष आबुधाबीस्थित हब्सन ग्यास उद्योग क्षेत्रमा पनि खसेको बताइएको छ । अवशेषका कारण उद्योग परिसरमा आगलागी भएपछि केही समयका लागि सञ्चालन रोकिएको थियो । यद्यपि, उद्योग क्षेत्रमा भएको आगलागीबाट कुनै मानवीय क्षति भने नभएको सरकारी अधिकारीहरूले स्पष्ट पारेका छन् ।

यूएईमा पछिल्लो समय भएका यस्ता आक्रमणका घटनाले त्यहाँ कार्यरत नेपाली श्रमिकहरूमा त्रास फैलाएको छ । यसअघि गत फागुनमा इरानको ड्रोन हमलामा परी यूएईमा सुरक्षा गार्डका रूपमा कार्यरत गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको थियो  ।

स्थानीय प्रशासनले सर्वसाधारणलाई सामाजिक सञ्जालमा फैलिने अपुष्ट खबरहरूमा विश्वास नगर्न र आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार मान्न आग्रह गरेको छ ।


सम्बन्धित समाचार