२ चैत, काठमाडौं । मुलुकमा भुसको आगोझैँ फैलिँदै गएको अवैध अनलाइन सट्टेबाजी (बेटिङ) को सञ्जाललाई ध्वस्त पार्न सरकारले अहिलेसम्मकै ठूलो ‘डिजिटल स्ट्राइक’ सुरु गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूसँगको प्राविधिक समन्वयमा ७ हजारभन्दा बढी सट्टेबाजीसम्बन्धी एप्लिकेसन र वेबसाइट (युआरएल) हरूलाई पूर्ण रूपमा ब्लक गरिदिएको हो । मन्त्रिपरिषद्ले गत चैत १३ गते स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार’ कार्यसूचीको बुँदा नम्बर ४२ लाई कार्यान्वयन गर्ने क्रममा प्राधिकरणले यो कठोर कदम चालेको हो, जसले २४ घण्टाभित्रै यस्ता अवैध प्लेटफर्महरू पहिचान गरी बन्द गर्ने म्यान्डेट पाएको थियो ।
पछिल्लो समय इमेल, टेलिफोन र सामाजिक सञ्जालमार्फत प्राप्त भएका ५० भन्दा बढी उजुरी र गुनासाहरूलाई आधार मान्दै प्राधिकरणले आफ्ना प्राविधिक संयन्त्रहरूलाई चौबिसै घण्टा परिचालन गरेर शङ्कास्पद डिजिटल सञ्जालहरूमा ‘डिजिटल पर्खाल’ खडा गरेको छ । प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार सट्टेबाजीका नयाँ(नयाँ माध्यमहरू पहिचान गर्ने र तिनलाई तत्काल प्रतिबन्ध लगाउने कार्यलाई तीव्रता दिइएको छ ।
सरकारको यो सक्रियताले युवा पुस्तालाई कुलत र आर्थिक जोखिमबाट जोगाउनुका साथै अवैध रूपमा बाहिरिने ठूलो धनराशिलाई नियन्त्रण गर्ने लक्ष्य राखेको छ ।
नेपालको कानुनले अनलाइन सट्टेबाजीलाई गम्भीर अपराधका रूपमा परिभाषित गर्दै मुलुकी अपराध संहिता २०७४ र विज्ञापन नियमन ऐन २०६६ मार्फत यस्ता कार्यलाई पूर्णतः निषेध गरेको छ । सट्टेबाजी गर्ने वा गराउनेलाई कैद र जरिवानाका साथै बिगो जफत हुने कडा कानुनी प्रावधान रहेकाले सरकारले सर्वसाधारणलाई यस्ता एप र वेबसाइटको प्रयोग नगर्न पुनः चेतावनी दिएको छ ।
सट्टेबाजीलाई प्रोत्साहन गर्ने विज्ञापनहरूमाथि समेत सूक्ष्म निगरानी बढाइएको र अटेर गर्नेमाथि कडा कानुनी कारबाही गरिने गृह मन्त्रालयको तयारीले यो अभियान अझै सशक्त हुने देखिएको छ ।

















