२३ चैत, काठमाडौँ । सरकारले इन्धन खपत कम गर्ने उद्देश्यले आजदेखि देशभरका सरकारी कार्यालयहरूको सेवा प्रवाह गर्ने समय परिवर्तन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय र राजपत्रमा प्रकाशित सूचनाअनुसार अब शैक्षिक संस्थाबाहेकका सम्पूर्ण सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन् ।
मध्यपूर्वमा जारी युद्धका कारण विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर मुलुकमा संकट देखिन थालेपछि सरकारले आइतबार र शनिबार दुई दिन सार्वजनिक बिदा दिने निर्णयसमेत कार्यान्वयनमा ल्याएको हो ।
नयाँ कार्यतालिकाअनुसार वैशाखदेखि कात्तिक १५ गतेसम्म बिहान ९ देखि ५ बजेसम्म कार्यालय खुल्नेछन् भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने दिउँसो ४ बजे नै कार्यालय बन्द हुनेछन् । सरकारको यो निर्णयलाई पछ्याउँदै नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरूका लागि नयाँ समय तोकेको छ ।
राष्ट्र बैंकको परिपत्रअनुसार अब बैंकहरू आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि ४ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन हुनेछन् । इन्धनको बढ्दो माग र वैदेशिक मुद्रा सञ्चितिमा परेको चापलाई कम गर्न सरकारले यस्तो कदम चालेको हो ।

















