Logo

२६ चैत, काठमाडौं । इरान र अमेरिकाबीच तय भएको वार्ता प्रक्रिया सुरु नहुँदै गम्भीर सङ्कटमा परेको छ ।

इरानी संसद्का सभामुख मोहम्मद बागर गालिबाफले अमेरिकासँग भएको युद्धविरामका १० मध्ये तीनवटा मुख्य सर्तहरू उल्लङ्घन भइसकेको आरोप लगाउनुभएको छ । लेबनानमा जारी सैन्य आक्रमण र इरानी हवाई क्षेत्रमा भएको घुसपैठलाई लिएर तेहरानले वासिङ्टनको इमानदारितामाथि प्रश्न उठाएको हो ।

अमेरिकी राष्ट्रपतिले १० बुँदे प्रस्तावलाई वार्ताको आधार मान्ने बताए पनि व्यवहारमा त्यसको विपरीत काम भएको इरानको ठहर छ । सभामुख गालिबाफले अमेरिकाको पुरानै शैली र प्रतिबद्धता तोड्ने बानीका कारण वार्ताको वातावरण बिग्रिएको टिप्पणी गर्दै सर्तहरू पालना नभएको अवस्थामा वार्ता गर्नु तर्कसंगत नहुने स्पष्ट पार्नुभएको छ ।

घटनाक्रमअनुसार लेबनानमा युद्धविरामसँग सम्बन्धित पहिलो सर्तको पालना नभएको र इरानको हवाई सीमामा ड्रोनमार्फत घुसपैठ गरिएको विषयलाई इरानले गम्भीर रूपमा लिएको छ । फार्स प्रान्तको लार सहरमा खसालिएको उक्त ड्रोनले सार्वभौमसत्ताको सम्मान गर्ने सर्त तोडेको इरानको दाबी छ ।

साथै, १० बुँदे प्रस्तावको छैटौँ सर्तमा उल्लेखित युरेनियम सम्वर्धन (एनरिचमेन्ट) को अधिकारलाई पनि अस्वीकार गरिएको भन्दै इरान रुष्ट बनेको छ । लेबनानमा १० मिनेटभित्रै १०० भन्दा बढी हवाई आक्रमण भएपछि संयुक्त राष्ट्रसंघले समेत निन्दा गरिरहेका बेला इरानको यो कडा प्रतिक्रिया आएको हो ।

यो तनावपूर्ण अवस्थाका बीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले मध्यस्थताको प्रयास गर्दै दुवै पक्षलाई वार्ताका लागि अप्रिल १० मा इस्लामाबादमा आमन्त्रण गर्नुभएको छ ।

प्रधानमन्त्री शरिफले तत्काल सबै क्षेत्रमा युद्धविराम हुनुपर्नेमा जोड दिए पनि वार्ता अगावै सर्तहरू उल्लङ्घन भएको इरानी दाबीले भोलि शुक्रबार तय भएको इस्लामाबाद संवादको भविष्य अन्योलमा परेको छ। दुई देशबीचको अविश्वास र बढ्दो सैन्य सक्रियताले गर्दा मध्यपूर्वको शान्ति प्रक्रिया झन् जटिल मोडमा पुगेको देखिन्छ ।


सम्बन्धित समाचार