Logo

२८ चैत, काठमाडौँ । शक्तिशाली राष्ट्र अमेरिका र इस्लामिक गणतन्त्र इरानबीचको दशकौँ लामो सत्रुता र हालैको सैन्य तनावपछि आजदेखि पाकिस्तानको इस्लामावादमा औपचारिक शान्ति वार्ता सुरु हुँदैछ। इरानी सभ्यता नै नष्ट पारिदिने कडा चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वबीच पाकिस्तानको मध्यस्थतामा भएको दुई हप्ताको युद्धविरामसँगै यो वार्ताको ढोका खुलेको हो।

पाकिस्तानको विशेष आतिथ्यतामा हुन लागेको यस वार्तामा ट्रम्पले आफ्ना विश्वासपात्र उपराष्ट्रपति जेडी भान्सलाई नेतृत्व सुम्पिएका छन्। भान्सको सहयोगका लागि ट्रम्पका विशेष दूत स्टीभ विटकफ र ज्वाइँ जेरेड कुसनरसहितको टोली शनिबार नै इस्लामावाद पुगिसकेको छ। उता, इरानको तर्फबाट संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफले वार्ता टोलीको कमान सम्हाल्दै छन्, जो उच्चस्तरीय टोलीसहित वार्ता स्थलमा उपस्थित भइसकेका छन्।

सर्तहरूको जुहारी 

यद्यपि आधिकारिक रूपमा सर्तहरू सार्वजनिक भइसकेका छैनन्, तर ट्रम्पले सामाजिक सञ्जाल ट्रूथु मार्फत इरानबाट १० सूत्रीय प्रस्ताव प्राप्त भएको र त्यसलाई वार्ताको व्यवहारिक आधारु मानेको खुलासा गरेका छन्। अर्कोतर्फ, इरानी विदेश मन्त्री अब्बास अरागचीले अमेरिकाले १५ सूत्रीय सर्तहरूको सूची पठाएको दाबी गरेका छन्। वार्तामा मुख्य गरी इरानको परमाणु कार्यक्रमको भविष्य, ब्यालिस्टिक मिसाइल र ड्रोन कार्यक्रममाथि प्रतिबन्ध, तथा विश्व ऊर्जा मार्ग होर्मुज स्ट्रेट को व्यवस्थापन जस्ता पेचिला विषयमा केन्द्रित रहेर छलफल हुनेछ।

पाकिस्तानले वार्ताकार र वार्तास्थलको सुरक्षाका लागि अभूतपूर्व प्रबन्ध मिलाएको छ। तर, विश्व समुदायमा अझै पनि यसको नतिजालाई लिएर केही संशय विद्यमान छ। यूएईका राष्ट्रपतिका वरिष्ठ कूटनीतिक सल्लाहकार अनवर गर्गशले इरान, अमेरिका र पाकिस्तानका तर्फबाट आइरहेका विरोधाभासी बयानहरूका बीच वास्तविक सामञ्जस्यता खोज्नुपर्नेमा जोड दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा हमला जारी रहने बताए पनि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले भने अमेरिका सबै क्षेत्रमा युद्धविराम गर्न सकारात्मक रहेको दाबी गरेका छन्।

ट्रम्पका शीर्ष वार्ताकारहरूले यो संवादबाट ऐतिहासिक सहमति जुट्ने र मध्यपूर्वमा जारी युद्धको स्थायी अन्त्य हुनेमा ठूलो विश्वास व्यक्त गरेका छन्। आजको यो वार्ताले विश्व राजनीतिलाई नयाँ दिशा दिने वा पुनः मुठभेडको स्थिति निम्त्याउने भन्नेमा सारा विश्वको ध्यान इस्लामावादतर्फ सोझिएको छ।


सम्बन्धित समाचार