Logo

२९ चैत, काठमाडौँ । पश्चिम एसियामा छ हप्तादेखि जारी भीषण युद्ध अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको राजधानी इस्लामावादमा भएको इरान र अमेरिकाबीचको ऐतिहासिक वार्ता आइतबार बिहान सम्पन्न भएको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछिकै सबैभन्दा उच्चस्तरीय र एक दशकभन्दा लामो समयपछिको यो पहिलो प्रत्यक्ष संवादलाई विश्व राजनीतिमा निकै चासोका साथ हेरिएको छ ।

करिब १४ घण्टासम्म चलेको सघन छलफलमा दुवै पक्षका प्राविधिक विज्ञहरूले शान्ति प्रक्रियासँग सम्बन्धित दस्ताबेजहरू आदानप्रदान गरेका छन् । इरानी सरकारले केही गम्भीर मतभेदहरू कायमै रहे पनि वार्तालाई निरन्तरता दिने बताएको छ, यद्यपि अर्को बैठकको मिति भने अझै तय भइसकेको छैन ।

पाकिस्तानी मध्यस्थतामा सम्पन्न यस वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विशेष दूत स्टिभ विट्कफ र जारेड कुश्नर सहभागी थिए भने इरानको नेतृत्व सभामुख मोहम्मद बाकर कालीबाफ र विदेशमन्त्री अब्बास अराक्चीले गरेका थिए । संवादका क्रममा दुई पक्षबीचको आपसी अविश्वास प्रस्ट रूपमा झल्किएको थियो ।

इरानी प्रतिनिधिमण्डलले युद्धमा मारिएका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र अन्यको शोकमा कालो पोसाक लगाएर उपस्थित भएका थिए भने अमेरिकी बमबारीमा ज्यान गुमाएका विद्यार्थीका जुत्ता र झोलाहरू टेबुलमा राखेर सांकेतिक विरोध जनाएका थिए । जसका कारण वार्ताको वातावरण निकै उतारचढावपूर्ण बनेको स्रोतले जनाएको छ ।

वार्ताको मुख्य मुद्दा विश्वको २० प्रतिशत ऊर्जा आपूर्ति हुने ‘स्ट्रेट अफ होर्मुज’ जलमार्गको अवरोध हटाउनु रहेको छ । इरानले युद्ध सुरु भएदेखि नै बन्द गरिदिएको यो जलमार्ग खुला गर्न र समुद्री माइनहरू हटाउन अमेरिकाले दबाब दिए पनि इरानले त्यसलाई अस्वीकार गरेको छ ।

इरानले कतार र अन्य विदेशी बैंकहरूमा रोक्का गरिएको आफ्नो अर्बौँको सम्पत्ति फुकुवा हुनुपर्ने, युद्धको क्षतिपूर्ति पाउनुपर्ने र लेबनानसहित क्षेत्रीय स्तरमा पूर्ण युद्धविराम हुनुपर्ने अडान राखेको छ । उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने विश्वव्यापी ढुवानीका लागि जलमार्ग तुरुन्त खोल्नुपर्ने र इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा निस्तेज पार्नुपर्ने सर्त राखेकाछन् ।

वार्ता भइरहँदा इस्लामावादमा हजारौँको संख्यामा सेना र अर्धसैनिक बल परिचालन गरी सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो । यता इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमणलाई यस सम्भावित युद्धविरामको हिस्सा नमान्ने अडान राखेपछि पश्चिम एसियाको संकट थप जटिल मोडमा पुग्ने देखिएको छ ।

वार्ताले तत्काल ठोस नतिजा ननिकाले पनि हजारौँको ज्यान लिइरहेको युद्ध रोक्न र विश्व बजारमा तेलको मूल्य स्थिर बनाउन यो संवादलाई एउटा महत्त्वपूर्ण खुड्किलोका रूपमा लिइएको छ ।


सम्बन्धित समाचार