Logo

२९ चैत, इस्लामावाद । अमेरिका र इरानबीच इस्लामावादमा भएको उच्चस्तरीय शान्ति वार्ता कुनै सम्झौता बिना नै टुङ्गिएको छ। २१ घण्टासम्म चलेको म्याराथन छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका उपराष्ट्रपति जेडी भान्सले वार्ता सफल हुन नसकेको घोषणा गर्दै पाकिस्तानबाट स्वदेश फर्किएका छन्।

विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उपराष्ट्रपति भान्सले अमेरिकी पक्ष लचिलो र सकारात्मक भएर प्रस्तुत भए पनि इरानको अडानका कारण सम्झौता हुन नसकेको बताए। हामीले सबै मुद्दामा छलफल गर्‍यौँ, तर इरानीहरू हाम्रा सर्तहरू स्वीकार गर्ने स्थितिमा पुग्न सकेनन्, भान्सले भने।

उनले वार्ताका क्रममा आफूले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पटक–पटक (करिब आधा दर्जनदेखि एक दर्जन पटकसम्म) परामर्श गरेको समेत जानकारी दिए। भान्सका अनुसार ट्रम्पको मुख्य चासो इरानले भविष्यमा परमाणु हतियार नबनाउने प्रतिवद्धता व्यक्त गरोस् भन्ने थियो। इरानको परमाणु कार्यक्रम नष्ट भइसकेको छ, तर उनीहरूले अब कहिल्यै परमाणु हतियार नखोज्ने संकल्प गर्नुपर्छ, जुन अहिलेसम्म देखिएको छैन, उनले थपे।

भान्सले वासिङ्टन फर्किनुअघि इरानका लागि एक स्पष्ट प्रस्ताव छाडेका छन्। उनले भने, हामी यहाँबाट एउटा सरल प्रस्ताव र समझदारीको विधि छाडेर जाँदैछौँ। यो नै हाम्रो अन्तिम र उत्तम प्रस्ताव हो। अब इरानले यसलाई स्वीकार गर्छ वा गर्दैन, त्यो उनीहरूकै हातमा छ।

यता, इरानको विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै आफूहरू खुला दिमागका साथ वार्तामा आएको तर अमेरिकाले अत्यधिक र गैरकानुनी मागहरू राखेको आरोप लगाएको छ। इरानी प्रवक्ता इस्माइल बकाईले सामाजिक सञ्जालमार्फत वार्ताको सफलता अमेरिकाको गम्भीरता र सद्भावमा निर्भर रहने बताए।

इरानले होर्मुज स्ट्रेट, परमाणु कार्यक्रम र युद्धको पूर्ण अन्त्यका विषयमा छलफल भएको जनाउँदै अमेरिकाले इरानको वैध अधिकार र हित स्वीकार गर्नुपर्ने अडान दोहोर्‍याएको छ।

पाकिस्तानको भूमिकाको प्रशंसा

उपराष्ट्रपति भान्सले वार्ताको वातावरण मिलाइदिएकोमा पाकिस्तानका प्रधानमन्त्री र फिल्ड मार्शल मुनिरप्रति आभार व्यक्त गरे। वार्तामा जे–जति कमीकमजोरी रहे, ती पाकिस्तानीहरूका कारण होइनन्, उनीहरूले अद्भुत काम गरे, उनले भने।

पत्रकार सम्मेलनमा भान्सको पछाडि ट्रम्पका ज्वाइँ जेरेड कुसनर र विशेष दूत स्टिभ विटकफ समेत उपस्थित थिए। अमेरिकी टोली इस्लामावादबाट एयरफोर्स टु विमानमार्फत वासिङ्टन प्रस्थान गरिसकेको छ। सहमति नजुटेपछि मध्यपूर्वमा जारी तनावले कुन मोड लिने हो भन्नेमा विश्व समुदायमा पुनः चिन्ता बढेको छ।


सम्बन्धित समाचार