Logo

१ वैशाख, (माडी) चितवन । नयाँ वर्ष २०८३ को पहिलो बिहानी। माडीका बस्तीहरूमा हर्ष र उल्लास छाइरहँदा, माडी नगरपालिका–६ शुक्रबजारचौरको एक कुनामा ३७ वर्षीय चुडामणी महतो भने टिलपिल आँसु बोकेर एउटै प्रश्न सोधिरहेका छन्— “के यो देश मेरो होइन, मेरो अपराध यत्ति हो कि म गरिबको कोखमा जन्मिएँ ?

विसं २०४५ माघ १५ गते माडी–४ सिम्रनीको माटोमा पहिलो पटक पाइला टेक्दा चुडामणीलाई थाहा थिएन, यो देशको कानुनले उनलाई एक दिन पहिचानविहीन बनाउनेछ। बुवा गंगाराम र आमा सोबिनीले यही माटो खनेर जिन्दगी गुजारे, यहीँ प्राण त्यागे। तर विडम्बना ! बुवाआमाको शेषपछि चुडामणीका लागि यो देशको नागरिक हुनु एउटा कहिल्यै पूरा नहुने सपना जस्तै बनेको छ।

दिदीको नागरिकतामा बुवाको नाम छ, तर चुडामणीको हातमा रित्तो हत्केला मात्रै। ऐलानी जग्गाको एउटा सानो झुप्रोमा बस्ने उनको परिवारको कथा नागरिकता नहुनु मात्र होइन, पल–पलको अपमान र तिरस्कारको कथा पनि हो। कहिलेकाहीँ छिमेकीले तिमी नेपाली होइनौ भन्दा मुटुमा कसैले खन्तीले खने जस्तो हुन्छ, रुन्चे स्वरमा चुडामणी भन्छन्, आफ्नै जन्मभूमिमा आफ्नो परिचय नहुँदा बाँच्नु नै भारी लाग्छ।

अबोध सन्तानको अन्यौलपूर्ण भविष्य

चुडामणीको पीडा उनीमाथि मात्रै सिमित छैन। उनका १३ वर्षकी छोरी र ११ वर्षका छोरा छन्। नागरिकता नहुँदा बाबुको पहिचान नभएर ती अबोध सन्तानको जन्मदर्ता समेत हुन सकेको छैन। स्कुलमा पढ्ने बेला होस् वा सामाजिक परिचय दिने बेला, बाबुको कागजी पहिचान नहुँदा ती बालबालिकाको भविष्यमाथि पनि राज्यले ठूलो पर्खाल उभ्याइदिएको छ। पहिलो र दोस्रो श्रीमतीले साथ छाडेपछि अहिले तेस्रो श्रीमती सन्तोषीले ती सन्तानलाई आमाको ममता त दिएकी छन्, तर नागरिक हुनुको अधिकार दिन उनी पनि लाचार छिन्।

वडा अध्यक्ष दीपेन्द्र पौडेलका अनुसार चुडामणीको बुवाआमा यहीँका बासिन्दा हुन् भन्नेमा कुनै शंका छैन। तर, आफ्नै भनिने दाजुभाइ र नातेदारहरूले वंशावली प्रमाणित गर्न र कागजातमा हस्ताक्षर गर्न नमानिदिँदा चुडामणीको नागरिकता बन्ने प्रक्रिया अड्कोमा परेको छ। रगतको नाता भएकाहरू नै निष्ठुरी बनिदिँदा एउटा मान्छे आफ्नै देशमा शरणार्थी जस्तै बन्न बाध्य छ।

एउटा आशाको किरण नयाँ वर्षको अवसरमा माडीका उपमेयर खेमप्रसाद महतोले यो मानवीय पीडालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ। बिदापछि कार्यालय खुलेसँगै चुडामणीको समस्या समाधानका लागि सहजीकरण गर्ने उहाँको आश्वासनले थोरै भए पनि आशा जगाएको छ।

दिनभर मजदुरी गरेर साँझको चुल्हो बाल्ने चुडामणी आज पनि पसिना पुछ्दै टोलाउँछन्। उनीसँग न भोट हाल्ने परिचयपत्र छ, न राज्यले दिने कुनै सुविधा लिने अधिकार। उनीसँग छ त केवल— आफ्नै देशको माटो, आमाको सम्झना र एउटा नागरिक बन्ने तीव्र तृष्णा।

चुडामणीको यो कथा केवल एक व्यक्तिको कथा होइन, यो हाम्रो राज्य संयन्त्र र समाजलाई सोधिएको एउटा गम्भीर प्रश्न हो— एउटा मान्छेले नेपाली हुनका लागि अरु कति वर्ष रुनुपर्छ ?


सम्बन्धित समाचार