Logo

३ वैशाख, (माडी चितवन । विवाद र आर्थिक अपारदर्शिताको केन्द्र बनेको ‘तेश्रो माडी सांस्कृतिक तथा पर्यटन उत्सव–२०८३’ को उद्घाटन सत्रमै प्रचलित नेपाल कानूनको गम्भीर उल्लंघन गरिएको छ।

सार्वजनिक स्थल र मेला–महोत्सवमा मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाउने कानूनी व्यवस्थालाई लत्याउँदै आयोजकले मञ्चको मुख्य भागमै मदिराको विशाल डमी राखेर प्रचार–प्रसार गरेको छ।

चितवनको इच्छाकामनामा उत्पादित ‘बाह्रसिङ्गे बियर’ को ठूलो बोतललाई मेलाको मुख्य आकर्षणका रूपमा मञ्चको ठीक अगाडि राखिएको छ। विडम्बना, संघीय कानूनले पूर्ण रूपमा निषेध गरेको यस्तो प्रचार सामग्रीकै अगाडि उभिएर माडी नगरपालिकाकी मेयर ताराकाजी महतोले महोत्सवको उद्घाटन गरेकी छन्।

स्थानीय सरकारको प्रमुख आफैँ उपस्थित कार्यक्रममा खुलेआम गैरकानूनी कृत्य हुनुले विधिको शासनमाथि नै प्रश्न उठाएको छ। स्थानीय सरकारलाई समेत विज्ञापन कर लगाउन पाउने अधिकार ऐनले तोकेको छ। तर उक्त ऐनमा मदिरा र सुर्तीजन्य पदार्थको सार्वजनिक स्थल, सभा–सम्मेलन तथा मेला–महोत्सवमा कुनै प्रचार गर्न पाइँदैन भनिएको छ।

कानून उल्लंघन गरे आयोजकलाई ५ लाख जरीवाना

नेपालको प्रचलित कानूनअनुसार सार्वजनिक स्थल, होडिङ बोर्ड वा मेला–महोत्सवमा सुर्तीजन्य वस्तु र मदिराको विज्ञापन वा प्रचार–प्रसार गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। मदिरा नियन्त्रण तथा नियमन नीति, २०७३ मा मदिराको विज्ञापन, सूचना वा जानकारी सञ्चारमाध्यम, होडिङ बोर्ड तथा सार्वजनिक स्थलमा प्रदर्शन गर्न नपाइने व्यवस्था छ।

त्यसैगरी, सोही नीतिमा कुनै पनि खेलकुद, सांस्कृतिक वा सामाजिक कार्यक्रममा मदिरा उत्पादक कम्पनीले प्रायोजन गरी आफ्नो लोगो वा ब्रान्डको प्रचार गर्न नपाउने उल्लेख छ। विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ (विज्ञापन गर्न नहुने) खण्ड (छ) मा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी विज्ञापन गर्न रोक लगाएका वस्तु वा सेवाको विज्ञापन गर्न नपाइने व्यवस्था गरिएको छ।

मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचार गरेको खण्डमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ अनुसार मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन, प्रचार–प्रसार तथा प्रवर्द्धन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। यसको उल्लंघन गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

त्यसैगरी, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ र २५ अनुसार निषेधित वस्तुको विज्ञापन गरेमा आयोजकलाई ५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ।

सिडिओको चेतावनी, “कानून उल्लंघन गरे कारबाही हुन्छ”

यस विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कानूनले निषेध गरेको कार्य मेलामा भएमा प्रशासन मुकदर्शक नबस्ने चेतावनी दिएका छन्। “इजाजत दिने समयमै हामीले कानूनको मापदण्डभित्र रहन निर्देशन दिएका थियौँ,” प्रजिअ अर्यालले भने, “यदि मदिराको प्रचार गरिएको प्रमाण फेला परेमा कानून अनुसार कडा कारबाही हुन्छ।”

माडी कला केन्द्रले आयोजना गरेको भनिए पनि यो महोत्सव वीरगञ्जको एउटा निजी कम्पनीलाई ठेक्कामा दिइएको छ। आर्थिक अपारदर्शिता र २ लाख रुपैयाँको हिसाब गायब गरेको आरोप खेपिरहेको यो संस्थाले अहिले कानूनी मर्यादा समेत उल्लंघन गरेपछि माडीवासी आक्रोशित बनेका छन्।

“स्थानीय सरकारले सार्वजनिक स्थलमा मदिराको विज्ञापन गरेर कानूनको धज्जी उडाउनेलाई साथ दिइरहेको छ,” एक स्थानीय व्यवसायीले आक्रोश व्यक्त गरे। नियमनकारी निकाय नगरपालिका आफैँ मुख्य प्रवर्द्धक रहेको महोत्सवमा भएको यो गैरकानूनी हर्कतले माडीको सुशासन र मेयर ताराकाजी महतोको कार्यशैलीलाई पुनः विवादको कठघरामा उभ्याएको छ।

‘बाह्रसिङ्गे बियर’ उत्पादन गर्ने कम्पनीका प्रवन्धक माधव पौडेलले महोत्सवमा विज्ञापन गरिएको विषयमा आफूलाई जानकारी नभएको बताए। “यो मैले हेर्दिनँ, मार्केटिङले गर्ने काम हो। जरुरी भएमा बुझेर भनौँला,” पौडेलले भने। माडी महोत्सवमा बियरको प्रचार गरिएको विषय आफूलाई जानकारी नभएको उनको भनाइ छ।


सम्बन्धित समाचार