४ बैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेका र अनधिकृत रूपमा कब्जा गरिएका जग्गा तथा सम्पत्ति फिर्ता गराउन कडा कदम चालेको छ ।
त्रिविको सामान्य प्रशासन शाखाले आज एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न व्यक्ति, कम्पनी तथा संघ(संस्थाहरूको नियन्त्रणमा रहेका सम्पत्ति ३५ दिनभित्र खाली गर्न अन्तिम चेतावनी दिएको हो ।
देशभर छरिएर रहेका विश्वविद्यालयका बहुमूल्य जग्गा र अचल सम्पत्तिहरू लामो समयदेखि कानुनविपरीत कब्जा र भोगचलन हुँदै आएको ठहर गर्दै त्रिविले यस्तो ताकेता गरेको हो । सूचनामा भनिएको छ कि तोकिएको समयसीमाभित्र अनाधिकृत कब्जा फिर्ता नगरेमा विश्वविद्यालयले प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेछ ।
पछिल्लो समय सरकारी र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान तीव्र भइरहेका बेला मुलुककै जेठो विश्वविद्यालयले पनि आफ्नो सम्पत्ति रक्षाका लागि यो महत्वपूर्ण कदम चालेको हो ।

















