४ वैशाख,वीरगञ्ज । पर्साको बिन्दबासिनी गाउँपालिका–४ प्रसौनीभाठ्ठा अमरपट्टीस्थित दशगजा सीमाक्षेत्रमा रहेका अवैध संरचना तथा मदिरा पसलहरू हटाइएको छ।
सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्म अलौ, प्रहरी चौकी अमरपट्टी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले सीमाक्षेत्रमा अनधिकृत रूपमा निर्माण गरिएका टहराहरू हटाएको हो।
उक्त कारबाहीअन्तर्गत नेपालतर्फ रहेका ५ वटा टहरा, ३ वटा मदिरा पसल र १ वटा भट्टी हटाइएको छ। साथै भारततर्फ निर्माण गरिएका ३ वटा टहरासमेत हटाइएको सुरक्षा निकायले जानकारी दिएको छ।
सीमाक्षेत्रमा बढ्दो अवैध गतिविधिलाई नियन्त्रणमा लिन र सुरक्षा व्यवस्था मजबुत बनाउन संयुक्त रूपमा अभियान सञ्चालन गरिएको सुरक्षाकर्मीहरूले बताएका छन्।

















