Logo

५ वैशाख, वीरगञ्ज । त्रिभुवन राजपथ अन्तर्गत ६ लेनको व्यवस्थित र आधुनिक बनेको वीरगञ्ज–पथलैया सडक खण्ड अहिले ठूला मालवाहक सवारी र कन्टेनरका कारण अस्तव्यस्त बनेको छ। सडक विस्तारसँगै सवारी आवागमन सहज हुनुपर्नेमा उल्टै राजमार्गलाई नै पार्किङ स्थल बनाइएपछि सडक दुर्घटनाको खतरा भयावह बनेको हो।

वीरगञ्जको सुख्खा बन्दरगाह (ड्राइपोर्ट) देखि परवानीपुरसम्मको दुवैतर्फका सडक किनारामा सयौँ मालवाहक गाडी र कन्टेनरहरू लस्करै पार्किङ गरेर राखिएका देखिन्छन्। व्यवस्थित ६ लेन सडकको मुख्य मार्ग र सर्भिस लेन दुवैलाई ट्रकहरूले ओगटेपछि सडक साँघुरो बनेको छ। रात्रिको समयमा सडक किनारमा पार्क गरिएका यी सवारी साधनमा ठोक्किएर ज्यानै जाने गरी दुर्घटना हुने जोखिम बढेको स्थानीयले बताएका छन्।

औद्योगिक करिडोरमा सञ्चालित कतिपय उद्योगहरूले आफ्नो परिसरभित्र पार्किङको व्यवस्था नगर्दा त्यसको भार सार्वजनिक सडकले बोक्नुपरेको छ। केही उद्योगले त राजमार्गको सर्भिस लेनलाई नै आफ्नो निजी पार्किङ सरह प्रयोग गरिरहेका छन्। सडकको सीमाभित्र आवागमन अवरोध गर्न नपाइने कानूनी व्यवस्था भए पनि उद्योगीहरूले कानूनको बर्खिलाप गरिरहेका छन्, एक स्थानीयले गुनासो गरे।

लामो समयसम्म गह्रौँ मालवाहक सवारी सडक किनारामा पार्किङ गर्दा भर्खरै बनेको सडक समेत भत्किन थालेको छ। अर्कोतर्फ, सर्भिस लेनमा गाडीहरू खाँदिएपछि पैदल यात्री र साइकल यात्रीहरू मुख्य सडकबाट हिँड्न बाध्य छन्, जसले गर्दा उनीहरूको ज्यान जोखिममा परेको छ।

सडकमा यति ठूलो अवरोध हुँदा पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले प्रभावकारी कदम चाल्न सकेको छैन। ट्राफिक प्रहरीले सडक किनाराबाट गाडी हटाउन ठोस सक्रियता नदेखाएको स्थानीयको आरोप छ। यद्यपि, ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक युवराज कटवालले केही उद्योगीहरूलाई मौखिक चेतावनी दिइएको र अटेरी गरे चिट काटेर कडा कारबाही गर्ने बताएका छन्।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सार्वजनिक सडक ऐन, २०३१ ले सडक अवरोध गरी सवारी राख्न निषेध गरे पनि वीरगञ्ज–पथलैया सडकमा भने कानूनको धज्जी उडाइएको छ। औद्योगिक करिडोरमा पार्किङको वैकल्पिक व्यवस्था नभएसम्म र प्रशासनले कठोर कदम नचालेसम्म यो जोखिम टर्ने छाँट देखिएको छैन।


सम्बन्धित समाचार