५ वैशाख,काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागत उल्लेख्य रूपमा बढेको भन्दै आफ्ना सदस्य उद्योगहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ। शनिबार जारी विज्ञप्तिमा महासंघले वर्तमान अवस्थामा पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न कठिन भएको जनाएको छ।
महासंघका अनुसार पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थहरू—जस्तै बोतल, क्याप, र्यापिङ रोल, जार तथा जार क्याप—को मूल्य करिब ४० प्रतिशतसम्म वृद्धि भएको छ। साथै पेट्रोलियम पदार्थ विशेषगरी डिजेलको मूल्यवृद्धिका कारण ढुवानी खर्च पनि उल्लेखनीय रूपमा बढेको छ।
अन्तर्राष्ट्रिय परिस्थितिलाई समेत मूल्यवृद्धिको प्रमुख कारण मानिएको छ। इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धमा देखिएको द्वन्द्वका कारण विश्व बजार, आपूर्ति प्रणाली तथा ढुवानी क्षेत्रमा परेको असरले कच्चा पदार्थको मूल्य र उपलब्धतामा प्रत्यक्ष प्रभाव परेको महासंघको भनाइ छ।
हाल देशभर ६२० भन्दा बढी पानी उद्योग सञ्चालनमा छन्, जसमा १६ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। यस क्षेत्रले ३० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ। महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीका अनुसार लागत वृद्धिका कारण उद्योगहरू टिक्नै नसक्ने अवस्थामा पुगेका छन्।
विज्ञप्तिमा भनिएको छ, “यो नाफामूलक निर्णय होइन, तर बढ्दो उत्पादन लागत, ढुवानी खर्च र कच्चा पदार्थको मूल्यवृद्धिका कारण सिर्जित बाध्यता हो। वर्तमान मूल्यमा पानी बिक्री गरेर उद्योग सञ्चालन सम्भव छैन।”
महासंघले सदस्य उद्योगीहरूलाई लागत वृद्धिको अनुपातमा मूल्य समायोजन गर्न अनुरोध गरेको छ। साथै सरकारसँग उद्योगमैत्री नीति ल्याउन, कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्न कूटनीतिक पहल गर्न तथा ढुवानी लागत नियन्त्रणका उपाय अवलम्बन गर्न माग गरेको छ।
उपभोक्ता, वितरक तथा सरोकारवालालाई पनि उद्योगको संरक्षण, रोजगारीको सुरक्षा र सेवा निरन्तरताका लागि प्रस्तावित मूल्य समायोजनमा सहयोग गर्न महासंघले अपिल गरेको छ।




















