Logo

५ वैशाख,वीरगञ्ज । एक वर्ष बिराएर फल्ने आँपमा यसपटक लागेको मञ्जर (फूल) ‘मधुवा’ रोगको प्रकोपमा परेपछि टिकुला झर्ने क्रम बढेको छ। यसका कारण यस वर्ष आँप उत्पादनमा उल्लेख्य ह्रास आउने कृषि ज्ञान केन्द्र सिरहा ले जनाएको छ।

केन्द्रका सूचना अधिकृत सुदीप खनाल का अनुसार जिल्लामा करिब ९,०२५ हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ। यस वर्ष मञ्जरको अवस्था राम्रो रहेकाले उत्पादन बढ्ने अपेक्षा गरिएको थियो। तर मधुवा रोगका कारण मञ्जर र टिकुला झरेपछि हाल करिब १० प्रतिशत मात्र फल बाँकी रहेको अनुमान गरिएको छ।

“आँपको राजधानी मानिएको सिरहामा गत वर्ष ५९ हजार ८८६ मेट्रिक टन आँप उत्पादन भएको थियो,” उनले भने, “यस वर्ष उत्पादन बढ्ने अपेक्षा प्रकोपका कारण निराशामा परिणत भएको छ।” उनका अनुसार आगामी वर्षदेखि मञ्जर लाग्नुअघि नै किसानलाई सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।

लहान नगरपालिका का कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइ ले यस वर्ष मञ्जर लाग्ने समयमै वर्षा र हावाहुरीका कारण समस्या झन् बढेको बताए। सुख्खा मौसममा आँप राम्रो सप्रिने भए पनि प्रतिकूल मौसमले रोग फैलिन सहयोग पुगेको उनको भनाइ छ। किसानहरूले ‘इमिडाक्लोप्रिड’ जस्ता औषधि प्रयोग गरे पनि प्रकोप नियन्त्रणमा सफलता नआएको उनले जानकारी दिए।

लहान नगरपालिका–१८ का किसान हृदय महतो ले रोग नियन्त्रणसम्बन्धी पर्याप्त ज्ञान र तालिम नपाएको गुनासो गरे। उनले धान खेतीको विकल्पका रूपमा आँप खेतीतर्फ आकर्षित किसानहरूलाई यस्ता प्रकोपबाट जोगाउन समयमै सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए।

यस्तै, जिल्ला समन्वय समिति सिरहा का प्रमुख दिनेश महतो ले आँपमा लाग्ने रोग–प्रकोप नियन्त्रणका लागि कृषि ज्ञान केन्द्र र जिल्लाका १७ वटै स्थानीय तहका कृषि शाखाबीच समन्वय गरी प्रभावकारी काम गरिने बताएका छन्।


सम्बन्धित समाचार