Logo

५ वैशाख,काठमाडौं ।यस वर्ष मनसुन सुरु हुनुअघि नै औसतभन्दा बढी वर्षा भएपछि वन डढेलोका घटनामा उल्लेख्य कमी आएको छ। वन तथा भू–संरक्षण विभाग का अनुसार डढेलोका घटना विगत वर्षको तुलनामा तीव्र रूपमा घटेका छन्।

विभागको तथ्याङ्कअनुसार २०८१ सालको चैत महिनामा ३३१ वटा डढेलोका घटना भएकामा यस वर्ष सोही अवधिमा संख्या घटेर ७९ मा झरेको छ। यो तथ्याङ्क डढेलोको अभिलेख राख्न थालेयताकै न्यून रहेको विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभाग का मौसमविद् डेभिड ढकाल का अनुसार यस वर्ष प्रि–मनसुन अवधिमा ४४.३ प्रतिशत वर्षा रेकर्ड भएको छ, जबकि सामान्यतया यो अवधिमा करिब ३० प्रतिशत मात्र वर्षा हुने गर्छ।

वन तथा वातावरण मन्त्रालय का सचिव गोविन्दप्रसाद शर्मा ले यस वर्ष वन डढेलोको ठूलो समस्या नदेखिएको बताएका छन्।

त्यसैगरी विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधान का अनुसार जलवायु परिवर्तन, लामो सुक्खा अवधि र मानवीय गतिविधिका कारण पछिल्ला वर्षहरूमा डढेलो बढ्दै आएको भए पनि यस वर्षको प्रि–मनसुन वर्षाले ठूलो राहत दिएको छ।

वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ अनुसार वन क्षेत्रमा आगलागीको प्रमुख कारण मानवीय गतिविधि रहेको देखिएको छ। तथ्याङ्कअनुसार ६४ प्रतिशत डढेलो जानाजानी, ३२ प्रतिशत लापरबाही र ४ प्रतिशत अज्ञात कारणले हुने गरेको छ।

विभिन्न कारणमध्ये चरिचरनका लागि आगो लगाउने प्रवृत्ति (३० प्रतिशत), चुरोट सेवन (१५ प्रतिशत), वनभोज तथा क्याम्प फायर (७ प्रतिशत), अवैध काठ कटान (५ प्रतिशत) र खेतीपातीका लागि आगो लगाउने (१ प्रतिशत) प्रमुख रहेका छन्।

यस वर्षको वर्षाले वन डढेलो नियन्त्रणमा उल्लेख्य सहयोग पुगेको अधिकारीहरूले बताएका छन्।


सम्बन्धित समाचार