९ वैशाख, (माडी) चितवन । चितवनको मणि मानिने माडी उपत्यका यतिबेला डढेलोबाट निस्किएको बाक्लो धुवाँ र तुवाँलोले कुरुप बनेको छ। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनहरूमा लागेको डढेलोका कारण माडी क्षेत्रको जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ। केही दिनदेखि बढेको अत्यधिक गर्मी र सुक्खा खडेरीका कारण वन क्षेत्रमा डढेलो डढेलो तीव्र गतिमा फैलिरहेको हो।
चितवन राष्ट्रिय निकुञ्जको बाटो भएर माडी–भरतपुर आवतजावत गर्ने यात्रुहरू डढेलोका कारण सबैभन्दा बढी मारमा परेका छन्। निकुञ्ज भित्रको सडक आसपाससम्मै आगोको ज्वाला पुग्दा सवारी साधन चलाउन कठिन भएको छ भने बाक्लो धुवाँका कारण भिजिबिलिटी कम हुँदा दुर्घटनाको जोखिम समेत बढेको छ। जंगलको बाटो हिँड्दा आँखा पोल्ने र सास फेर्नै गाह्रो हुने अवस्था छ, एक यात्रीले गुनासो गरे।
डढेलोले निकुञ्ज भित्रका बहुमूल्य वनस्पति र वन्यजन्तुको बासस्थान खरानी बनाइरहँदा पनि निकुञ्ज प्रशासनले नियन्त्रणका लागि ठोस पहल नगरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन्। वन डढेलो नियन्त्रणका लागि आधुनिक उपकरण र पर्याप्त जनशक्ति परिचालन हुनुपर्नेमा निकुञ्ज प्रशासन मूकदर्शक बनेको आरोप लागेको छ।
धुवाँले गर्दा माडी उपत्यकाभरि तुवाँलो लागे जस्तो देखिन्छ। बिहान र बेलुकाको समयमा झन् बाक्लो हुने धुवाँले गर्दा बालबालिका, ज्येष्ठ नागरिक र श्वासप्रश्वासका बिरामीहरू घरबाहिर निस्कन सकेका छैनन्। आँखा पोल्ने, टाउको दुख्ने र घाँटीमा समस्या देखिने बिरामीहरूको संख्या स्थानीय स्वास्थ्य केन्द्रहरूमा बढ्न थालेको छ।
जितबहादुर बुढाका अनुसार डढेलो नियन्त्रणका लागि स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहहरूले आफ्नो तर्फबाट प्रयास गरिरहेका छन्। तर, भौगोलिक विकटता र तीव्र हावाहुरीका कारण डढेलो नियन्त्रण बाहिर जाँदै गरेको उनले जानकारी दिए। ूहामीले निगरानी त बढाएका छौँ, तर निकुञ्ज भित्रैबाट सल्किएको आगो निभाउन निकुञ्ज प्रशासनको सक्रियता बिना सम्भव छैन, उनले भने।
वातावरणविद्हरूले यसलाई वातावरणीय संकटको रूपमा लिँदै मास्कको अनिवार्य प्रयोग गर्न र अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सुझाव दिएका छन्। डढेलोले केवल वन क्षेत्र मात्र नभई माडीको सम्पूर्ण पर्यावरणीय सन्तुलन र जनस्वास्थ्यमा दीर्घकालीन असर पार्ने देखिएको छ।




















