Logo

१० बैशाख, काठमाडौं । मुलुकको मूल कानुनलाई समयसापेक्ष परिमार्जन गर्ने उद्देश्यका साथ गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज सिंहदरबारमा सुरु भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको यस कार्यदलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो । संविधानलाई थप परिष्कृत र सर्वस्वीकार्य बनाउने अभियान अन्तर्गत कार्यदलले आफ्नो सक्रियता बढाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठक विशेष गरी विभिन्न राजनीतिक दलहरूबाट प्राप्त भएका लिखित सुझाव र धारणाहरूको सूक्ष्म विश्लेषणमा केन्द्रित रहने बताइएको छ । कार्यदलले दलहरूले बुझाएका प्रस्तावका आधारमा संविधान संशोधनका मुख्य मुद्दाहरू पहिचान गर्ने र ती विषयमा विस्तृत छलफल गरी एउटा साझा अवधारणा बनाउने तयारी गरेको छ ।

राष्ट्रिय जनमोर्चा र श्रम संस्कृति पार्टी लगायतका दलहरूले यसअघि नै आ(आफ्नो धारणा कार्यदललाई बुझाइसकेका छन्, जसमा शासकीय स्वरूपदेखि संघीयताको भविष्यसम्मका विषयहरू समेटिएका छन् ।

छलफलमा पहिचान गरिएका मुद्दाहरूका अतिरिक्त कार्यदलले आगामी दिनमा गर्ने कामकारबाही र प्रस्तावित कार्ययोजनाको विषयमा पनि ठोस निर्णय लिने कार्यसूची रहेको छ । राजनीतिक दलहरूको प्रत्यक्ष सहभागिता र सुझावलाई समेटेर तयार पारिने यो बहसपत्रले आगामी संविधान संशोधनको मार्गचित्र तय गर्ने विश्वास गरिएको छ ।

सरकारले संविधानलाई थप व्यावहारिक र जनमुखी बनाउन यो कार्यदललाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पेको हो ।


सम्बन्धित समाचार