Logo

१० वैशाख,वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकाले मेनरोड विस्तारका क्रममा सडक सीमा क्षेत्रमा परेका घरहरूमा डोजर चलाएर भत्काइएपछि सोही अवस्थाको अनुचित फाइदा उठाउँदै भाडा वृद्धि तथा अनधिकृत धरौटी रकम माग्ने गतिविधि बढेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै मेनरोड क्षेत्रका घरहरू भत्किएको परिस्थितिको मौका छोपेर घरधनीहरूले भाडा वृद्धि गर्न दबाब दिने, अनाधिकृत रूपमा धरौटी रकम माग गर्ने तथा बढी भाडा पाउने लोभमा सम्झौता अगावै बहालमा रहेका पसल तथा व्यवसायीलाई हटाउन खोज्ने जस्ता गुनासोहरू प्राप्त भएको जनाएको छ।

महानगरले यस्ता कार्यहरू नगर्न स्पष्ट आग्रह गर्दै यदि कुनै घरधनीले त्यस्तो गतिविधि गरेको पाइएमा जरिवाना सहित प्रचलित कानुन बमोजिम थप कारबाही गरिने चेतावनीसमेत दिएको छ।

साथै, महानगरपालिकाले घर, कोठा, सटर तथा गोदाम लगायतका बहाल सम्झौताहरू गर्दा पक्षहरूबीच दबाबरहित र यथार्थ भाडादर निर्धारण गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ। यस्ता सम्झौताहरू सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गराई सोको एक प्रति वीरगन्ज महानगरपालिकाको राजस्व व्यवस्थापन महाशाखामा अनिवार्य रूपमा पेश गर्न समेत निर्देशन दिइएको छ।

महानगरले सार्वजनिक सूचनामार्फत व्यवसायी र घरधनी दुवै पक्षलाई कानुनअनुसार पारदर्शी व्यवहार अपनाउन आग्रह गरेको छ।


सम्बन्धित समाचार