१० वैशाख,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सा ले सीमावर्ती क्षेत्रबाट हुन सक्ने विदेशी नागरिकको अवैध घुसपैठ रोक्न विशेष निगरानी अभियान सुरु गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार वैशाख १० गतेदेखि सीमानाकाबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकमाथि कडाइका साथ निगरानी गरिने प्रशासनले जनाएको छ। राष्ट्रिय सुरक्षा र अमन–चयनलाई सुदृढ बनाउने उद्देश्यले यो अभियान सञ्चालनमा ल्याइएको हो।
अभियानअन्तर्गत सीमानाकाबाट प्रवेश गर्ने विदेशी नागरिकहरूको पासपोर्ट र भिसा अनिवार्य रूपमा जाँच गरिनेछ। साथै, सम्पर्क नम्बर सहितको विस्तृत विवरण संकलन गरी व्यवस्थित अभिलेख राखिने व्यवस्था मिलाइएको छ। उक्त कार्य अध्यागमन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण को संयुक्त टोलीले सीमानाका चेकपोस्टमै गर्नेछन्।
प्रशासनले सर्वसाधारण, सीमावर्ती क्षेत्रका बासिन्दा तथा व्यवसायीहरूलाई शंकास्पद विदेशी नागरिक देखिएमा तत्काल सुरक्षा निकायलाई जानकारी गराउन अपिल गरेको छ। साथै, होटल, लज वा अन्य स्थानमा बसोबास गर्ने विदेशी नागरिकको विवरण सम्बन्धित निकायलाई उपलब्ध गराउन पनि आग्रह गरिएको छ।
अवैध रूपमा सीमा पार गर्ने वा गराउने गतिविधि देखिएमा निर्धक्क सूचना दिन र सुरक्षा निकायसँग सहकार्य गर्न प्रशासनले सबैमा अनुरोध गरेको छ।
यसैबीच, सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल ले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सञ्चालन गरिएको यस अभियानमा सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्। उनले अवैध गतिविधि नियन्त्रण र सीमा सुरक्षालाई प्रभावकारी बनाउन प्रशासन प्रतिबद्ध रहेको स्पष्ट पारे।



















