१० वैशाख,वीरगञ्ज । कमला नदीमा नयाँ पुल निर्माण कार्य तत्काल अघि बढाउन माग गर्दै ‘नयाँ कमला पुल निर्माण संघर्ष समिति सिराहा–धनुषा’ ले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव लाई ज्ञापनपत्र बुझाएको छ।
बिहीबार बुझाइएको ज्ञापनपत्रमा २०७१ भदौ ७ गते मधेश प्रदेश सरकार र संघर्ष समितिबीच भएको सहमति अझै कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ। समितिले दुई वर्ष बित्न लाग्दा पनि सहमति कार्यान्वयन नगरी ढिलाइ, टार्ने र जनतालाई झुक्याउने काम मात्र भएको आरोप लगाएको छ।
समितिका अनुसार आर्थिक वर्ष २०८२/८३ समाप्त हुन लाग्दासमेत नयाँ पुल निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गरिएको छैन। जीर्ण अवस्थामा रहेको पुरानो पुलको मर्मत कार्यसमेत प्रभावकारी रूपमा नभएको भन्दै सात दिनभित्र ठेक्का प्रक्रिया अघि नबढाइए अनसन, चक्काजाम र सडक अवरोधसहितका आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिइएको छ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री यादवले विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए। उनले १५ वर्षदेखि जीर्ण रहेको पुल मधेशको ‘जीवनरेखा’ भएको उल्लेख गर्दै यसको निर्माण अत्यावश्यक रहेको धारणा राखे।
उनका अनुसार उक्त सडक हुलाकी सडक आयोजना अन्तर्गत पर्ने भएकाले संघीय सरकारसँग समन्वय भइरहेको छ। चालु आर्थिक वर्षको ‘रेड बुक’ मा १ करोड रुपैयाँ विनियोजन भए पनि पुल निर्माणका लागि करिब २ अर्बभन्दा बढी लागत लाग्ने अनुमान गरिएको उनले बताए।
मुख्यमन्त्री यादवले स्रोत सुनिश्चितताका लागि संघीय सरकारसँग निरन्तर छलफल भइरहेको जानकारी दिँदै संघर्ष समितिलाई धैर्य गर्न र सरकारलाई सहयोग गर्न आग्रह गरे। साथै, हालको पुलको डिजाइनमा देखिएका त्रुटि सच्याएर हुलाकी मार्गसँग पूर्ण रूपमा जोड्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कमला नदीमा नयाँ पुल निर्माणमा ढिलाइ हुँदा सिराहा र धनुषाका स्थानीय बासिन्दा तथा यात्रुहरू लामो समयदेखि समस्या झेल्दै आएका छन्।


















