११ वैशाख,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद अधिवेशन आह्वान भएको २४ घण्टा नबित्दै स्थगन गरिनु गम्भीर प्रश्नको विषय भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले संसद स्थगनले सरकारको नीति निर्माण प्रक्रिया र लोकतान्त्रिक अभ्यासप्रति आशंका उत्पन्न गरेको टिप्पणी गरेका छन्। बलियो बहुमत प्राप्त सरकारले संसदलाई विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्नुपर्नेमा अध्यादेशमार्फत अघि बढ्ने प्रयास भइरहेको हो कि भन्ने प्रश्न उनले उठाएका छन्।
पौडेलले सहज संसदीय अंकगणित र अनुकूल राजनीतिक परिस्थिति हुँदाहुँदै पनि सरकारको राजनीतिक आत्मविश्वास किन कमजोर देखिएको हो भन्ने प्रश्नसमेत गरेका छन्।
उनले लोकतन्त्रमा विधि र प्रक्रियाको पारदर्शिता अत्यन्त महत्त्वपूर्ण हुने भन्दै प्रक्रिया छलेर परिणाम खोज्ने प्रवृत्तिले लोकतान्त्रिक पद्धति र संसदीय मर्यादाको अवमूल्यन हुने चेतावनी दिएका छन्।
“जननिर्वाचित संस्थाको गरिमा उच्च राख्न र संसदलाई पूर्ण विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्न म सरकारसँग अनुरोध गर्दछु,” उनले भनेका छन्।

















