११ वैशाख,काठमाडौं । इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनामा न्यायको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू धर्नामा बसेका छन्।
सांसदहरू खगेन्द्र सुनार, रीमा विश्वकर्मा लगायत हिजो बेलुकादेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्नामा बसेका हुन्।
सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका श्रीकृष्ण विकले खोटाङकी १७ वर्षीया किशोरीसँग प्रेम विवाह गरेपछि बलात्कारको आरोपमा पक्राउ परेका थिए। ललितपुर प्रहरीले वैशाख ३ गते उनलाई पक्राउ गरी सिन्धुलीको खुर्कोट पठाएको थियो।
तर वैशाख ७ गते हिरासतमा उनको मृत्यु भएको हो। प्रहरीले विक झुण्डिएको अवस्थामा अचेत फेला परेको जनाएको छ भने परिवार र आफन्तले प्रहरीको कुटपिटका कारण मृत्यु भएको आरोप लगाएका छन्।
परिवारले घटनाको निष्पक्ष छानबिनसहित हिरासतको सिसिटिभी फुटेज सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
यसबीच घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।

















