Logo

११ वैशाख,काठमाडौँ । उद्यमी–व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकले निजी क्षेत्र निरुत्साहित भएको भन्दै प्रमुख निजी क्षेत्रका संघ–संस्थाहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ र नेपाल च्याम्बर अफ कमर्सका अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्लो घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।

विज्ञप्तिमा नयाँ सरकार गठनपछि देशमा स्थिरता र लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिएको भए पनि व्यवसायीमाथि भइरहेका धरपकड र पक्राउका घटनाले निजी क्षेत्र त्रसित बनेको उल्लेख छ। यसले अर्थतन्त्र, रोजगारी, राजस्व संकलन तथा पूर्वाधार विकासमा समेत नकारात्मक असर पार्ने चेतावनी दिइएको छ।

निजी क्षेत्रले अर्थतन्त्रमा करिब ८१ प्रतिशत योगदान र रोजगारीमा करिब ८६ प्रतिशत हिस्सा ओगटेको उल्लेख गर्दै उनीहरूलाई नै असुरक्षित महसुस गराउने अवस्था सिर्जना हुनु गम्भीर भएको विज्ञप्तिमा भनिएको छ।

संघ–संस्थाहरूले यस्तो अवस्थाले लाखौँ रोजगारी, आपूर्ति शृङ्खला, बैंकिङ क्षेत्र र समग्र आर्थिक प्रणालीमै असर पार्न सक्ने भन्दै सरकारलाई सचेत गराएका छन्।

त्यस्तै, सरकारले पारित गरेको ‘निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयन गर्न माग गर्दै संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र दोष प्रमाणित नभएसम्म कसुरदार नमानिने सिद्धान्तको पालना गर्न पनि आग्रह गरिएको छ।

प्रहरीले व्यवसायी शेखर गोल्छालाई हिजो पक्राउ गरेपछि निजी क्षेत्रका संघ–संस्थाले संयुक्त रूपमा प्रतिक्रिया जनाउँदै यो विज्ञप्ति सार्वजनिक गरेका हुन्।


सम्बन्धित समाचार