११ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति शोक व्यक्त गर्दै आज शोक विदा दिएको छ।
महानगरपालिकामा २०६४ साल पुस ९ गतेदेखि स्थायी रूपमा कार्यरत मेस्तर्नीको यही बैशाख ४ गते निधन भएको थियो। उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महानगरले सम्पूर्ण सेवामा शोकको वातावरण बनाएको जनाएको छ।
महानगरपालिकाले दिवंगत मेस्तर्नीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
उनको सम्झनामा शुक्रबार बिहान साढे १० बजे महानगरपालिकाको प्रांगणमा शोक सभा आयोजना गरिएको थियो। कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंह, प्रशासन प्रमुख शुनिल कुमार कर्ण तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।
प्रशासन प्रमुख कर्णका अनुसार आज महानगरपालिका अन्तर्गतका अत्यावश्यक सेवाबाहेक सबै सेवाहरू बन्द रहनेछन्।


















