Logo

११ वैशाख,जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले विभिन्न कारबाहीमा परी निलम्बन तथा बर्खास्त भएका ६ जना पूर्व कर्मचारीलाई सरकारी कागजात र जिन्सी सामग्री सात दिनभित्र बुझाउन अल्टिमेटम दिएको छ।

परिषद्का अध्यक्ष सितल साह पूर्वेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै पटक–पटकको ताकेता गर्दा पनि आवश्यक कागजात नबुझाइएको र केही महत्वपूर्ण सामग्री लुकाइएको भन्दै तत्काल सम्पर्कमा आउन निर्देशन दिएका हुन्।

परिषद्का अनुसार वरिष्ठ प्रशासकीय अधिकृत चिरञ्जीवी ढुङ्गाना, कम्प्युटर अधिकृत कृष्ण मुरारी सिंह, अधिकृत जितेन्द्र कुमार यादव, लेखापाल सावित्री कुमारी गिरि, स्टोर किपर मदन कुमार चौधरी र नायब सुब्बा सञ्जय कुमार मण्डलले हालसम्म बर–बुझारथ नगरेको उल्लेख छ।

तीमध्ये अधिकांश विशेष अदालत काठमाडौँमा विचाराधीन मुद्दामा प्रतिवादीसमेत रहेको परिषद्को भनाइ छ। विशेष अदालतले २०८२ चैत २ गते नै सम्बन्धित सक्कल कागजात झिकाउन आदेश दिएको भए पनि कर्मचारीहरूले सहयोग नगरेको दाबी गरिएको छ।

अध्यक्ष पूर्वेलाई विशेष अदालतबाट वैशाख ८ गते प्राप्त पत्रका आधारमा सूचना जारी गरिएको जनाइएको छ। सूचनामा सात दिनभित्र कागजात तथा जिन्सी सामग्री बुझाई भरपाई नलिए कानुनअनुसार कडा कारबाही अघि बढाइने चेतावनी दिइएको छ।


सम्बन्धित समाचार