Logo

११ वैशाख,काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनारका सुकुमबासी बस्तीमा रहेका घरटहरा शनिबार बिहानैदेखि भत्काइने भन्दै ‘अत्यन्त जरुरी सूचना’ जारी गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा सार्वजनिक, सरकारी तथा पर्ती जग्गा अतिक्रमण गरी बनाइएका संरचना खाली गरिने उल्लेख गरिएको छ।

प्रशासनले शुक्रबार साँझ ७ बजेसम्म स्वेच्छिक रूपमा घरटहरा खाली गर्न अन्तिम समय दिएको छ। तोकिएको समयभित्र खाली नगरे शनिबार बिहान ६ बजेदेखि डोजर परिचालन गरी भत्काउने कार्य सुरु हुने सूचनामा उल्लेख छ।

सूचनामा भनिएको छ, “मिति २०८३ वैशाख ११ गते साँझ ७ बजेसम्म घरटहरा खाली गर्नुहोस्। अन्यथा १२ गते बिहान ६ बजेदेखि भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गर्ने कार्य हुनेछ।”

प्रशासनले उक्त कार्यमा अवरोध सिर्जना भए कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।सरकारी निर्णयसँगै राजधानीका नदी किनारका सुकुमबासी बस्तीमा तनाव र त्रासको अवस्था बढेको छ।


सम्बन्धित समाचार