११ वैशाख,काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशभर लाखौं सुकुमवासी रहेको उल्लेख गर्दै वास्तविक सुकुमवासी र अतिक्रमणकारी छुट्याएर दीर्घकालीन समाधान गर्ने सरकारको योजना अघि बढाइएको बताएका छन्।
काठमाडौंका विभिन्न स्थानमा सुकुमवासी बस्ती खाली गराउने तयारी भइरहेका बेला प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारले वास्तविक पीडितहरूको व्यवस्थापन प्राथमिकतामा राख्ने स्पष्ट पारेका हुन्।
उनका अनुसार सरकारले वास्तविक सुकुमवासीलाई आवश्यक प्रक्रिया पूरा गरी जग्गा वितरण गर्ने योजना बनाएको छ। उनले वर्षौंदेखि समाधान हुन नसकेको यो समस्यालाई वर्तमान सरकारले स्थायी रूपमा सम्बोधन गर्ने दाबी गरेका छन्।
प्रधानमन्त्री शाहले काठमाडौंका खोला किनारमा मात्रै नभई अन्य क्षेत्रमा पनि हजारौं परिवार वास्तविक रूपमा पीडित रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षित बसोबास सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए।
हरेक वर्ष बाढीका कारण नदी किनारका बस्तीमा बसोबास गर्ने हजारौं नागरिकले आफ्नो सम्पत्ति छोडेर ज्यान जोगाउनुपर्ने अवस्था दोहोरिँदै आएको भन्दै उनले यसलाई दीर्घकालीन रूपमा समाधान नगरे समस्या निरन्तर दोहोरिने चेतावनी दिए।
प्रधानमन्त्री शाहका अनुसार सरकार अहिले नै सुरक्षित बसोबास व्यवस्थाको विकल्प खोज्दै काम अघि बढाइरहेको छ, ताकि भविष्यमा यस्ता विपद् दोहोरिन नपरोस्।
यसैबीच, काठमाडौंका विभिन्न सुकुमवासी बस्ती खाली गराउने सरकारी तयारीसँगै प्रभावित समूहले विरोध प्रदर्शन समेत गरेका छन्।

















