Logo

११ वैशाख,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले युवा नेता रञ्जन कार्कीलाई सबै जिम्मेवारीबाट हटाएको छ। पार्टीले स्पष्टीकरणको अवसर नदिई एकैपटक बर्खास्त गरेको हो।

पार्टी प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा कार्कीमाथि पार्टी हितविपरीत गतिविधि गरेको आरोप लगाइएको छ। विज्ञप्तिमा उनीमाथि सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वविरुद्ध अफवाह फैलाउने, घृणित अभिव्यक्ति दिने र भ्रम सिर्जना गर्ने कार्य गरेको उल्लेख छ।

त्यसैगरी गत निर्वाचनमा मतदान प्रक्रियामा सहभागी नभएको तर निर्वाचन परिणामबारे निरन्तर आलोचनात्मक टिप्पणी गरेको लगायतका ६ वटा आरोपसमेत लगाइएको छ।

कार्कीलाई ह्वाट्सएपमार्फत पदमुक्त गरिएको बताइएको छ। उनी यसअघि विवेकशील साझा पार्टीबाट राप्रपामा प्रवेश गरेका थिए र पछिल्लो समय पार्टीभित्र सक्रिय युवा नेताका रूपमा चिनिन्थे।

पछिल्लो समय उनी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति खुलेर आलोचना गर्दै आएका थिए। हालै सामाजिक सञ्जालमा उनले नेतृत्वमाथि ६ बुँदे आरोप सार्वजनिक गरेपछि विवाद थप चर्किएको थियो।

कार्कीले भने आफूलाई कुनै स्पष्टीकरणको मौका नदिई अपमानजनक रूपमा हटाइएको प्रतिक्रिया दिएका छन्। उनले नेतृत्वले स्वेच्छाचारी शैली अपनाएको आरोप लगाउँदै राप्रपा अध्यक्ष लिङ्देनलाई “केपी शर्मा ओलीको दोस्रो संस्करण बन्न खोजेको” टिप्पणी गरेका छन्।

पार्टी नेतृत्वले भने कार्कीको वफादारितामाथि प्रश्न उठाउँदै उनलाई पार्टीविरुद्ध गतिविधि गरेको आरोप लगाएको छ।

यस घटनाले राप्रपाभित्र आन्तरिक विवाद झनै गहिरिएको देखिएको छ।


सम्बन्धित समाचार