Logo

१२ बैशाख, वीरगञ्ज । बाराको मानमत-कलैया-मटिअर्वा सडकखण्ड निर्माणमा चरम लापरबाही गरेको भन्दै हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गतको योजना कार्यालय, वीरगञ्जले निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडेको छ ।

निर्माण कार्यलाई अलपत्र पारेको र पटक-पटकको ताकेतालाई बेवास्ता गरेको भन्दै ‘सप्तकोशी जलाधार–ओम साई एण्ड कम्पनी जे.भी., काठमाडौं’ सँगको ठेक्का सम्झौता रद्द गरिएको हो ।

ठेक्का नं. HRP/337011284/077-78/UR-005 अन्तर्गत स्तरोन्नति हुनुपर्ने उक्त सडकखण्डको कार्यप्रगति सन्तोषजनक नदेखिएपछि कार्यालयले कडा कदम चालेको हो । निर्माण व्यवसायीले पटक-पटक म्याद थप गर्दा पनि काम सम्पन्न गर्न कुनै चासो नदेखाएको योजना कार्यालयको ठहर छ ।

निर्माण व्यवसायीको यो ढिलासुस्तीका कारण उक्त सडक वर्षौंदेखि धुलाम्य र हिलाम्य बनेको छ । सडकको दुरवस्थाका कारण सवारी दुर्घटनामा वृद्धि हुनुका साथै स्थानीयवासीको दैनिकी अत्यन्त कष्टकर र जोखिमपूर्ण बनेको थियो। लामो समयसम्म निर्माण कार्य अधुरो रहँदा स्थानीयले चरम सास्ती भोग्दै आएका थिए ।

योजना कार्यालयले निर्माण कार्य सम्पन्न गर्न पटक-पटक लिखित तथा मौखिक निर्देशन दिएको थियो । निर्माण कम्पनीले काम सक्ने लिखित प्रतिबद्धता जनाए पनि व्यवहारमा भने कुनै प्रगति नभएपछि कार्यालयले गत २०८२ असोज ३१ गते १५ दिने अन्तिम स्पष्टीकरण सूचना प्रकाशित गरेको थियो । उक्त समयावधिभित्र पनि सन्तोषजनक प्रगति नदेखिएपछि सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ठेक्का तोड्ने निर्णयमा कार्यालय पुगेको हो ।

ठेक्का तोडिएसँगै कार्यालयले निर्माण व्यवसायीमाथि थप कारबाहीको प्रक्रिया अघि बढाएको छ। निर्देशनालयले कम्पनीको कार्यसम्पादन जमानत (परफमेन्स बोन्ड) रकम जफत गर्ने, बाँकी काम सम्पन्न गर्न लाग्ने थप खर्च सरकारी बाँकीसरह असुलउपर गर्ने तथा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको छ।

कार्यालयले हालसम्म भएको कामको नापजाँच, मूल्यांकन र वित्तीय फरफारखका लागि १५ दिनको म्याद दिँदै निर्माण व्यवसायीलाई कार्यालयमा उपस्थित हुन अन्तिम मौका दिएको छ । तोकिएको समयभित्र पनि कम्पनी सम्पर्कमा नआए एकतर्फी रूपमा नापजाँच प्रक्रिया अघि बढाइने कार्यालयले चेतावनी दिएको छ ।

यस निर्णयसँगै लामो समयदेखि अलपत्र परेको सडकले अब गति लिने र स्थानीयले भोग्दै आएको सास्तीको अन्त्य हुने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै