१२ वैशाख,काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन)लाई जनतालाई अनावश्यक दुःख नदिन आग्रह गरेका छन्।
सरकारले सुकुमवासी बस्ती हटाउने अभियान चलाइरहेको पृष्ठभूमिमा सांसद साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै भूमि स्वामित्वबारे दार्शनिक अभिव्यक्ति दिएका छन्। उनले जग्गा–जमिन कसैको स्थायी सम्पत्ति नभएको उल्लेख गर्दै अन्ततः सबै माटोमै विलीन हुने भन्दै जनतालाई धेरै कष्ट नदिन सुझाव दिएका छन्।
उनको भनाइ उद्धृत गर्दै सामाजिक सञ्जालमा लेखिएको छ, “बालेन जी… तपाइँलाई मेरो सुझाव—जनतालाई धेरै दुःख नदिनु, जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन।”
त्यसैगरी उनले विकास निर्माणतर्फ ध्यान दिन आग्रह गर्दै पुराना राजनीतिक विवाद र ‘जुँगाको फाइट’ छोड्नुपर्ने बताएका छन्। उनले व्यंग्यात्मक शैलीमा लेख्दै वर्तमान नेतृत्वलाई विवादभन्दा विकासमा केन्द्रित हुन सुझाव दिएका छन्।
साम्पाङको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। केहीले उनको भनाइलाई मानवीय दृष्टिकोण भन्दै समर्थन गरेका छन् भने केहीले यसलाई राजनीतिक टिप्पणीका रूपमा व्याख्या गरेका छन्।
यस विषयमा सम्बन्धित पक्षबाट भने औपचारिक प्रतिक्रिया आएको छैन।

















