Logo

१२ वैशाख,काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका–१० ले मनमैजुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कूटनीतिक आचरणलाई व्यवस्थित र अनुशासित बनाउन सरकार सक्रिय रहेको उल्लेख गरे।

उनका अनुसार प्रधानमन्त्री, मन्त्री तथा सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूका लागि समान रूपमा कूटनीतिक आचारसंहिता लागू गर्न सरकारले विशेष तालिम कार्यक्रम समेत सञ्चालन गरिरहेको छ।

“प्रधानमन्त्री, मन्त्रीलगायत सबैलाई कूटनीतिक आचरण समान रूपमा लागू गर्न हामीले तालिमको व्यवस्था गरेका छौँ,” मन्त्री खनालले भने।

कार्यक्रममा उनले वर्तमान सरकार सुशासन र आर्थिक समृद्धिको दिशामा केन्द्रित रहेको दाबी गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रअनुसार सुशासन प्रवर्द्धन र विकासका लक्ष्य हासिल गर्न सरकार अघि बढिरहेको उनको भनाइ थियो।

उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै सरकार अगाडि बढिरहेको पनि स्पष्ट पारे।


सम्बन्धित समाचार