१२ वैशाख,काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले जनप्रतिनिधिहरूले पदको धाक र रवाफ देखाउने प्रवृत्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले सांसदहरू जनताको सेवक भएको उल्लेख गर्दै यस्तो व्यवहार गर्ने जनप्रतिनिधिमाथि कडा कारबाही हुनुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ओखलढुंगाबाट निर्वाचित सांसद विश्वराज पोखरेलले एक विद्यालयका प्रधानाध्यापकलाई ‘गेटमा स्वागत गर्न नआएको’ भन्दै हप्काएको भिडियो सार्वजनिक भएपछि पुनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।
पुनले लेखेका छन्, “यिनी कुन पार्टीका हुन् कुन्नी ? म यिनको नेता भएको भए ठाउँको ठाउँ बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ।”
उनले सांसद पद जनताको सेवामा समर्पित हुनुपर्ने स्पष्ट पार्दै जनप्रतिनिधिहरूलाई आफ्नो भूमिकाबारे सचेत हुन आग्रह गरेका छन्।
“सांसद भनेको जनताको नोकर हो। ५ वर्षसम्म आफ्नो समय, बल र बुद्धि जनताको सेवामा लगाउनुपर्छ,” पुनले उल्लेख गरेका छन्।
विद्यालयका प्रधानाध्यापकलाई सार्वजनिक रूपमा हप्काउनु गलत भएको भन्दै उनले उक्त व्यवहारलाई सांसद पदकै बेइज्जत भएको टिप्पणी गरेका छन्। पुनले सम्बन्धित सांसदले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने र माफी नमागे जनताले जवाफदेही बनाउनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।
यसैबीच, उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा सांसद पोखरेलले स्वागतमा नआएको विषयलाई लिएर प्रधानाध्यापकलाई हप्काएको देखिन्छ।

















