१२ वैशाख,काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनार क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाउने अभियानलाई सरकारले शनिबारदेखि तीव्रता दिएको छ। यसै क्रममा गैरीगाउँस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचनाहरू हटाउन सुरु गरिएको छ।
सरकारी निकायहरू—नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरीको संयुक्त टोली परिचालन गरी बिहानैदेखि संरचना हटाउने काम अघि बढाइएको हो। यसअघि थापाथली क्षेत्रका बस्तीहरू खाली गराइसकिएको अधिकारीहरूले बताएका छन्।
थापाथली आसपासको बस्ती खाली गर्ने क्रममा शनिबार बिहानदेखि प्रभावित सुकुमवासीहरू सरकारी सम्पर्कमा आउन थालेका छन्। बिहान ११ बजेसम्म उनीहरू टोलीसँग सम्पर्कमा आएका थिए भने दिउँसो १ बजेसम्म २२ परिवारले आफूहरू घरवारविहीन भएको भन्दै विवरण दर्ता गराएका छन्।
उनीहरूले आफ्नो परिवारसँग सम्बन्धित विवरण तथा कागजात सरकारी टोलीलाई बुझाएका छन्। हाल प्रभावित परिवारहरूको विवरण संकलन तथा ‘स्क्रिनिङ’ प्रक्रिया त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन भइरहेको छ।
सरकारले प्रभावित सुकुमवासीहरूको व्यवस्थापन तथा स्थानान्तरणका लागि विभिन्न निकाय परिचालन गर्दै क्रमशः बस्ती खाली गर्ने कार्यलाई अघि बढाइरहेको छ।

















